तुलसीपुरमा ३९ करोड लागतमा सुविधासम्पन्न बसपार्क निर्माण आजदेखि सुरु

Posted on: 12 Jun, 2017


जेठ २९, दाङ । तुलसीपुर उपमहानगरपालिका –५मा रु ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ । 

उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गर्नुभएको हो । 

पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्देश्यले उपमहानगरपालिकाले झन्डै आधा दशकअघि बनाएको व्यवस्थित बसपार्कको गुरुयोजना नगर विकास कोषले चार वर्षअघि स्वीकृति दिएको थियो । 

पहिलो चरणमा रु साढे १० करोडको लगानीमा तयार हुने सो बसपार्कमा रु नौ करोड नगर विकास कोषको ऋण, रु एक करोड बैदेशिक अनुदान र रु ५० लाख उपमहानगरपालिकाले लगानी गर्ने भएको छ । 

बसपार्क भित्र टर्मिनल भवन, ५० वटा सपिङ कक्ष तथा सार्वजनिक शौचालय निर्माण गरिने र सडकमा कालोपत्रेका साथै सडक बत्तीसमेत जडान हुने कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिनुभयो । 

पन्ध्र महिनाभित्र काम सम्पन्न गर्ने गरी शिवशक्ति निर्माण कम्पनीलाई कामको जिम्मा दिएको छ । 

तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यवस्थित बसपार्क नहुँदा निकै समस्या परेको छ । पुरानो बसपार्क वर्षायाममा हिलाम्मे हुने र हिउँदमा धुलोको समस्याका साथै पर्खाल नहुँदा असुरक्षा बढेको व्यवसायीले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!