चाँगुनारायण ६ मा एमाले ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम

Posted on: 29 May, 2017

जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । 

एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी महिला सदस्यमा इन्द्रमाया तामाङ, दलित महिला सदस्य मञ्जु विश्वकर्मा, सदस्यहरु धनबहादुर लामा र सुजेन्द्र मुनकर्मी मत प्राप्त गरी विजयी हुनुभएको छ । 

वडा नं ७ मा एक वडा सदस्यबाहेक सबै नेपाली काँग्रेसको समूह विजयी भएको छ । जसमा वडाध्यक्षमा ज्ञानबहादुर केसीले एक हजार ७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी महिला वडा सदस्यमा एमालेकी दुर्गा थापा लामिछाने, काँग्रेसका उम्मेदवारहरु दलित महिला सदस्य मनिता नेपाली, सदस्यहरु शम्भु श्रेष्ठ र रमेश लामा मत प्राप्त गरी विजयी हुनुभएको छ । 

नगर प्रमुख र उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका तर्फबाट उम्मेदवार हुनुभएको सोम मिश्रले छ हजार ७२ मत र उपप्रमुख बिना बास्तोलाले छ हजार ४५३ मतले अग्रता लिएको छ । काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले पाँच हजार ८३९ मत र उपप्रमुख सरु बानियाँले छ हजार ३०२ मतले पछ्याउनुभएको छ । 

यस नगरपालिकामा नेमकिपाका तर्फबाट प्रमुख पदका उम्मेदवार रहनुभएका न्हुछे फोजूले तीन हजार २१४ मत र उपप्रमुख रीता काफ्लेले दुई हजार ६८६, राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले तीन हजार ६४०, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले तीन हजार २२६ मत ल्याएर पछ्याई रहनुभएको छ । 

मतगणना सकिएका वडामध्ये १, २, ५ र ७ मा काँग्रेसको समूह विजयी भएको छ भने वडा नं ३, ४ र ६ मा एमालेको समूह विजयी भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!