अमेरिकाको बैंक बन्द हुँदा सुनको भाउ एकै दिन १७ सय बढ्यो

Posted on: 12 Mar, 2023

फागुन २८, काठमाडौँ | आइतबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढेकाले नेपाली बजारमा आइतबार त्यसको असर परेको हो । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा समायोजन हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुनको मूल्य ८ सयले बढेको थियो ।

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द हुनु र स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्य बढेको जानकार बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिकाको स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता सुनमा आकर्षित भएको र यसले मूल्य बढाएको बताए । 'विश्वका प्रमुख स्टक मार्केटले सुनको मूल्यलाई सिधा असर गर्छ, यसको प्रभाव पनि आइतबार देखिएको हो' उनले भने 

तरलताको समस्याका कारण अमेरिकी सिलिकन भ्याली बैंक बन्द भएको छ । बैंकले ठूलो रकमको बोन्ड बिक्री गरी तरलता व्यवस्थापन गर्दा त्यहाँको स्टक मार्केट समेत प्रभावित बन्न पुगेको छ । जसले गर्दा लगानीकर्ताको विश्वाष सुनप्रति बढेको शाक्यले बताए । सिलिकन बैंक बन्द भए पनि सबै बचतकर्ताको सबै रकम सुरक्षित रहेको सीएनबीसीले उल्लेख गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!