कालिकोटका सबै पालिका सडक सञ्जालसँग जोडिए

Posted on: 22 Dec, 2021

पुस ७, मान्म | कालिकोटका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।

नौ स्थानीय तहका ८२ वडामध्ये प्रायःजसोमा सडक पुगेको छ । रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको उपप्रमुख मिमसरा बम शाहीले बताउनुभयो । “सबै वडा सडक सञ्जालसँग जोडिएका छन्”, उहाँले भन्नुभयो, “मूल सडक कालोपत्रे हुँदैछ भने अन्य वडामा कालोपत्रको तयारी छ ।”

खाडाचक्र नगरपालिकाका ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया विष्टले जानकारी दिनुभयो । “स्थानीय सरकार बनेपछि सबै वडामा सडक पुर्याएका छौँ”, उहाँले भन्नुभयो, “सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ ।” यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडामा पनि सडक पुगेको छ । सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिकाका र पचालझरना गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन् ।

नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच वडामा सडक पुगेको छ ।  चार वडामा यसै आर्थिक वर्षभित्र सडक विस्तार गरिने अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । वडा नं ८, ९, १, २ र ३ मा सडक बनेको छ । वडा नं ४, ५, ६ र ७ मा सडक खन्ने तयारी छ । शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही बाहेक अन्य वडा सडक सञ्जालले जोडिएका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!