रसुवाको माछा दार्चुलासम्म

Posted on: 26 Jul, 2021

साउन ११, रसुवा (रासस)। उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको सङ्ख्यामा कमी आएसँगै  रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किसानको चाहनाअनुरूप प्राविधिक ज्ञानसमेत प्रदान गरी दार्चुलालगायतका जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । विसं २०७१ देखि यहाँ स्थापना भएको मत्स्य अनुसन्धान केन्द्रले जापानी रेन्बो ट्राउट उत्पादनका साथै चीनबाट ल्याइएका दानासेन र सुइकी वान नामक चिनियाँ माछाका भुरासमेत परीक्षण उत्पादन शुरू गरेको छ ।

त्रिशूली नदीको पानी प्रयोग गरी उक्त केन्द्रले धुञ्चेस्थित इमरुङ क्षेत्रमा लाखौँ माछाका भुरा उत्पादन गरिरहेको छ तर स्थानीयस्तरमा पालन गर्ने किसानको सङ्ख्या भने पाँच जनामा मात्रै सीमित रहेपछि अन्य जिल्लामा समेत आफ्नो कार्यथलो विस्तार गरेको मत्स्य प्राविधिक बताउँछन् । विसं २०७२ को विनाशकारी भूकम्पले अधिकांश माछाका पोखरी क्षति पुर्याएपछि आर्थिक समस्याले पोखरीको पुनःनिर्माण हुन नसक्दा रसुवाका विपन्न किसानलाई पालनको व्यवस्थापनमा समस्या पर्न थालेको हो ।

आर्थिक अवस्था कमजोर भएको र क्षतिको मूल्याङ्कन गरी राहत दिने एवं सुनुवाइ गर्ने निकायको अभाव भएपछि चाहना हुँदाहुँदै माछापालनमा लगनशीन हुन नसकेको किसानले गुनासो गरेका छ । माछा भुराको उत्पादन एवं प्राविधिक ज्ञानबाहेक पूर्वाधार निर्माणको काम गर्न नसक्ने भएका कारण मत्स्य केन्द्रले पालनको सूचीकृत भएका अन्य जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बताइन्छ ।

रेन्बो ट्राउट माछाका लागि नेपाल कृषि अनुसन्धान परिषद्ले विभिन्न ५५ जिल्लामा उपयुक्त प्रमाणित गरेका कारण कृषकको चाहनाका आधारमा कार्यक्षेत्र फराकिलो पार्दै लगिएको उक्त केन्द्रका प्रमुख महेन्द्र भण्डारीले जानकारी दिनुभयो । माछाको लागि वैज्ञानिक संस्था भएका कारण किसानको चाहना एवं मागअनुरूप भौगर्भिक अवस्था, पानीको उपयोगिता तापक्रमसमेतको अध्ययन र तालिमसमेतको प्राविधिक ज्ञान प्रदान गरी कार्यक्षेत्र विस्तार गरिँदै लगिएको छ ।

दार्चुलाका साथै गुल्मी, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा र नुवाकोट जिल्लामा समेत कार्यथलोका रूपमा विस्तार भइसकेको मत्स्य प्राविधिक विशेष कोइरालाले बताउनुभयो । माछापालन गर्ने इच्छा देखाई सीप लिन आउने किसानलाई आफ्ना प्राविधिकको साथमा सात देखि २१ दिनसम्म प्रशिक्षण दिने गरिएको छ । हिमाली क्षेत्र चिसो स्थान भएका कारण ज्ञान सिक्ने किसानलाई केन्द्रको हाताभित्रै बसोबासको व्यवस्था मिलाइएकाले बिहानदेखि बेलुकासम्म सीप हासिल गर्न सहज भएको छ ।

रेन्बो ट्राउट माछाबाट लाभ लिन २०० ग्रामसम्मको वजन हुनुपर्ने र यसको हुर्कने अवधि भने आठदेखि १३ महिनासम्म लाग्ने प्राविधिक कोइराला बताउनुहुन्छ । हालसम्म जापानी ट्राउटको भालेपोथीको बिजारोपण गराई उत्पादन गराउँदै आएकामा चिनियाँ जातसमेत आनुवंशिक सुधारका लागि विभिन्न देशबाट बिज आयात गरी प्राविधिक विस्तार गर्ने लक्ष्य लिइएको सो केन्द्रले जनाएको छ ।

एउटै वंशको भन्दा अर्को वंशसँग मिश्रण गराउँदा छिटो बढ्ने र धेरै उत्पादन लिन सकिन्छ कि भन्ने सोचाइका साथ परीक्षण गर्न लागिएको प्रमुख भण्डारीले बताउनुभयो । दानासेन एवं सुइकी जात माछापालन गर्न चाइना नेपाल कोअपरेशन परियोजनामार्फत रसुवागढी नाकाबाट आँखा उम्रेका माछाका अण्डा सहयोगस्वरूप निःशुल्क प्राप्त भएको छ । चिनियाँ प्रविधिको ज्ञान हस्तान्तरणका लागि एक जना चिनियाँविज्ञसमेत केन्द्रमा रहेको बताइएको छ । 

केन्द्रले ३९ वटा पोखरी निर्माण गरेको छ । तीमध्ये भुरा पोखरी २४, हुर्काउला नौ एवं माउ पोखरी छ वटा रहेका छन् । कार्यालयसमेतको पूर्वाधार निर्माणमा हालसम्म करिब रु ३० करोडभन्दा बढी रकम राज्यकोषले खर्च गरिसकेको बताइन्छ । गत वर्ष उत्पादन गरिएकामध्ये ४० हजार भुरा र ६४ हजार आँखा उम्रेका अण्डा कृषकसामु वितरण गरिएको उक्त केन्द्रका प्राविधिक बताउँछन् ।

रेन्बो ट्राउट माछाको उत्पादनका लागि स्थानीयस्तरमै ज्ञानसीप भएका कारण पालन कार्यमा सहभागी भई घरआँगनमै बसेर आयवृद्धि गर्ने कार्यमा सहभागी भइदिन सम्पूर्ण कृषकसमक्ष आग्रह गरिएको प्रमुख भण्डारीले बताउनुभयो ।





यस बिषयमा तपाइको प्रतिक्रिया...!