आइपीओ अघि नै सर्वोत्तम सिमेन्टले १९.११८ प्रतिशत बोनस सेयर दिने

Posted on: 09 Jun, 2021

जेठ २६, काठमाडौं । बुक बिल्डिङ विधिमार्फत् आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले त्यसअघि नै बोनस सेयर दिने भएको छ । कम्पनीले यसका लागि विशेष साधारण सभा बोलाएको छ ।

विशेष साधारण सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्तापुँजी ३ अर्ब ४० करोडको १९.११८ प्रतिशत अर्थात् ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापुँजीको १.००६ प्रतिशतले हुन आउने ३ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्ताव विशेष साधारणसभामा प्रस्ताव पेश गरिनेछ ।

कम्पनीका अनुसार कम्पनीको हालको जारी तथा चुक्तापुँजीको वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजीको अनुपात मिलान गर्ने योजना छ । कम्पनीले यसअघि चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ जारी गर्ने घोषणा गरिसकेको छ ।

बुक विल्डिङ विधिमार्फत् आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तय गरिनेछ । तर बिक्री मूल्यको तल्लो सीमा त्यसको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ३ महिना भित्रै लगानीकर्तालाई १० प्रतिशत बोनश र २५ प्रतिशत नगद लाभांश दिने बताएको छ । जारी गरिने कुल ६० लाख कित्ता आइपीओमध्ये २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!