कहिले आउँछ सञ्चालनमा ‘जनकपुर–जयनगर रेल्वे ’ ?

Posted on: 18 Jan, 2021

माघ ५, धनुषा  । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताउनुभयो । 

भारतको विहार राज्यको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ । महाप्रबन्धक भट्टराईले भन्नुभयो, “जयनगरदेखि कुर्थासम्मका लागि रेल्वे लिक, स्टेसन, सिग्नललगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको र सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी छैन ।”

महाप्रबन्धक भट्टराईको अनुसार माघ १५ गतेभित्र रेल सेवा सञ्चालन गर्नका लागि आवश्यक मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आइपुग्दैछ । त्यसका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पाेरेशनसँग सम्झौता हुने भएको उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, “सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस’समेत तयार भइसकेको छ र ड्राइभर, इञ्जिनीयरलगायत २६ जना मुख्य प्राविधिक जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको छ ।” त्यसैगरी रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो । निजामतीबाट आउने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र पठाइसकेको जनाइएको छ । भारतीय जनशक्ति माघ १५ गतेभित्र नेपाल आइपुगेपछि रेल्वे सञ्चालनका लागि गर्नुपर्ने विभिन्न परीक्षण गर्नुका साथै नेपालका कर्मचारीलाई आवश्यक तालीम प्रदान गर्नेछ ।  

अहिले पहिलो चरणमा जयनगरदेखि कुर्था खण्डमा सञ्चालनका लागि गत असोज २ गते भारतबाट ल्याइएका दुई वटा डेमो रेल इनर्वास्थित स्टेशनमा पार्किङ गरी राखिएको छ भने रेल्वेको सुरक्षाको जिम्मा पछिल्लो मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बललाई दिइसकेको छ  । अहिले १२६ जना सशस्त्र प्रहरीले उक्त रेल्वे खण्डको सुरक्षा दिइरहेका छन् । रेल सञ्चालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा साधारणमा ७० रुपैयाँ र एसीमा ३०० सम्म तोकिएको छ । प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ साधारणमा र एसीमा साधारणभन्दा पाँचगुणा बढी भाडा तोकिएको उहाँले बताउनुभयो । एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँका दरले भाडा लाग्ने छ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने छ । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी पाँच वटा स्टेसन राखिएको छ ।

जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ । स्टेसन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने छ । 

त्यसैगरी जनकपुर–जयनगर रेल्वेको साइट इञ्चार्ज विनोद ओझाले जयनगरदेखि कुर्थासम्म यात्रा गर्न एक घण्टा लाग्ने बताउनुभयो । इञ्जिनीयर ओझाले डिजेल र विद्युत् दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको यो प्रतिघण्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने बताउनुभयो । एउटै इञ्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा डब्बामा ७० सिट छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप चार वटा डिब्बासम्म जोड्न सकिने इञ्जिनियर ओझाले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!