दैलेखका युवालाई रोजगारी दिएर गाउँमै रोक्ने योजना

Posted on: 02 Oct, 2020

असोज १६, दैलेख । दैलेखको महाबु गाउँपालिकाले कोरोना महामारीका वेला गाउँ फर्किएका युवालाई गाउँमै रोक्न रोजगारी सिर्जना गर्ने अभियानमा जुटेको छ । 

यसका लागि गाउँपालिकाले रोजगारी सिर्जना गर्ने योजनासमेत बनाएको छ । कोरोना महामारीका वेला दुई हजार सात सय युवा गाउँ फर्किएका छन् । चालु आर्थिक वर्षमा सञ्चालन गर्ने सबै विकास गतिविधिमा ठूला मेसिनको प्रयोग बन्द गर्ने र विकास निर्माणका काममा सम्बन्धित गाउँकै युवाको समिति बनाएर काममा लगाउनेजस्ता योजना बनाइएको गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो । 

“कृषि, पशुपालनसँगै गाउँ र वडामा हुने सबै विकास निर्माणका काममा अनिवार्य रूपमा युवालाई परिचालन गर्ने रणनीति बनाएर काम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले नीति बनाएर अध्यक्ष रोजगार कार्यक्रमसँगै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा युवा परिचालन गरेर गाउँमै रोक्ने तयारी थालेको छ ।”

यो गाउँपालिकामा कोरोना सङ्क्रमण कम देखिएकाले दसैँ र तिहारकै वेलामा युवालाई विभिन्न रोजगारीका काम दिएर आम्दानीका स्रोत व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिनुभयो । यस्ता रोजगारमूलक कार्यक्रममार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर फेरिने अपेक्षा गाउँपालिकाले लिएको उहाँको भनाइ छ ।

कोरोना व्यवस्थापनमा रु दुई करोड ७६ लाख खर्च

कोरोना भाइरस नियन्त्रणका लागि रु दुई करोड ७६ लाख खर्च भएको महाबु गाउँपालिकाले जनाएको छ । क्वारेन्टिन व्यवस्थापन, खाना खर्च, सामग्री खरिद, औषधि खरिदलगायत विभिन्न शीर्षकमा रु दुई करोड ७६ लाख रकम खर्च भएको हो । 

स्वास्थ्य शाखा प्रमुख रमेश दशौदीले विदेशबाट आएका युवालाई ल्याउनका लागि मात्रै यातायात व्यवस्थापनमा रु ३६ लाख खर्च भएको बताउनुभयो । भारत, तेस्रो मुलुक र नेपालकै अन्य जिल्लामा कामको खोजीमा गएका दुई हजार सात सयभन्दा बढी नागरिक कोरोना महामारीको समयमा गाउँपालिकामा आएको उहाँले बताउनुभयो । 

विभिन्न शीर्षकमा भएको खर्च रकममध्ये पूरै भुक्तानी दिन नसकिएको र केही रकम उधारो रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले जानकारी दिनुभयो । गाउँपालिकाले उपचार सेवा प्रभावकारी बनाउन गाउँपालिकामै रु २५ लाखको अत्याधुनिक आइसोलेसन अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमण मात्र नभएर अन्य बिरामीका लागि पनि अस्पताल प्रयोगमा आएको अध्यक्ष शाहीको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!