धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम

Posted on: 23 Jul, 2020

विनोद सिंह विष्ट । साउन ८, बैतडी ।  भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने  भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६:४५ बजेसम्म खोलिने भएको हो । 

पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका  खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभयो । बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह  घटबढ भइराख्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ । बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्यास गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।  

यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ । दार्चुला र  बैतडीसाथै  डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनाले नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । 

उता, परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो । 

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिनेबारे जानकारी गर्दै आइरहेको छ । यसअघि गत असार १५ गते राति १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!