फिदिमदेखि प्राङबुङ सडक कालोपत्र तीव्रगतिमा

Posted on: 24 Dec, 2019

पुष ८, पाँचथर | पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि वढेको छ । 

 फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा  हिलाम्य र घाम लाग्दा धुलाम्मे हुने सडक अहिले कालोपत्र हुने चरणमा पुगेको छ । फिदिमदेखि प्राङबुङसम्म सडक निर्माण गर्न उपकरण र  कामदार दिनरात खटिएका छन् । फिदिम नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका छ वडालाई सदरमुकामसम्म जोड्ने यो सडक निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । 

धेरै जनसङ्ख्या लाभान्वित हुने यो सडक कालोपत्रका लागि सङ्घीय सरकार र प्रदेश सरकारले लगानी गरेका छन् । प्रदेश सरकारको लगानीमा फिदिम–फालोट सडक अन्तर्गत फिदिम–नाङ्गीन खण्ड कालोपत्रको काम अघि बढेको हो । १०.११२ किलोमिटरको सो  खण्डको कालोपत्रको जिम्मा कन्काइ पिएस जेभीले रु ५२ करोड ६७ लाख ३० हजारमा लिएको छ । नाङ्गीनको सल्लेरीदेखि प्राङबुङको लुदिनटारसम्म २९ किलोमिटर सडक कालोपत्र हुँदैछ । ‘ग्रामीण सडक सञ्जाल सुधार आयोजना’अन्तर्गत यो सडकखण्डको कालोपत्रका लागि निर्माणकार्य जारी रहेको छ ।

विगतमा एकतर्फी मात्रै सवारी चल्न सक्ने सानो सडकको अधिकांश खण्ड अहिले विस्तार भइरहेको छ । हिलाम्य भइरहने अधिकांश खण्डमा घण्टौँ यातायात अवरुद्ध पारेर ठूला चट्टान तथा भिर–पहरा फोरिँदैछ । सयौँ निर्माण उपकरण एकैपटक विभिन्न खण्डमा निर्माणकार्यमा परिचालन भएका छन् । भौगोलिक कठिनाइका कारण २०/३० मिटर अग्ला तारजालीसहितको टेवा पर्खाल निर्माण भइरहेका छन् । अहिले सडक विस्तार गर्ने, नाली काट्ने, टेवा पर्खाल लगाउने कार्य धमाधम भइरहेको छ । 

सयौँ स्थानीय युवा यस सडकखण्डमा श्रम गरिरहेका भेटिन्छन् । “राम्रै कमाइ हुने भएकाले सडक निर्माणमा मजदुरको रूपमा काम गरिरहेको छु । घरमा काम नभएको बेला गाउँमै काम पाइयो”वडा नं ८ का सन्दीप केरुङले भन्नुभयो । उहाँजस्तै सयौँ स्थानीय युवाले टेवा पर्खाल निर्माण, निर्माण सामग्री व्यवस्थापनमा रोजगारी पाएका छन् । 

फिदिम–फालोट सडक विशेषत कृषि उपजको निर्यात र भारतको सीमासम्म पुग्ने महत्वपूर्ण सडकका रुपमा रहेको छ । यस सडकले सदरमुकामसम्म जोड्ने फिदिम नगरपालिकाका चार वडा तथा फालेलुङ गाउँपालिकाका छ वडालाई जोड्छ । कृषिजन्य उत्पादनका दृष्टिले प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् । पक्की सडक र पर्याप्त सवारी साधन उपलब्ध नहुँदा यहाँ उत्पादित कृषि उपजले उचित मूल्य पाउन सकेको छैन । फिदिमदेखि प्राङबुङसम्मको सडक कालोपत्र भएपछि यहाँ उत्पादन हुने अलैँची, अदुवा, दुग्धजन्य उत्पादन, सागसब्जी तथा नगदेबाली, किबी, सुन्तलालगायत फलफूल बजारसम्म पुर्याउन सहज हुनेछ । 

पक्की सडक पुगेपछि यहाँका कृषक व्यावसायिक हुने अपेक्षा गरिएको छ । यस सडकले नेपाल–भारत सीमाक्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र फालोटलाई समेत जोड्नेछ । यद्यपि फालेलुङ गाउँपालिका–५ प्राङबुङबाट फालोटसम्म सडक सञ्जालले जोड्ने कार्य भने पूरा भइसकेको छैन ।

कच्ची सडकका कारण यहाँका स्थानीयवासीले दशकौँदेखि सास्ती ब्यहोर्दै आएका थिए । यहाँ वर्षायाममा सवारी सञ्चालनमा कठिनाइ पर्ने गर्दछ । केही किलोमिटर सडक पार गर्न पनि घण्टौँ लाग्ने गर्दथ्यो । अहिले पनि सडक निर्माण तीव्रगतिमा चलिरहेका कारण सडक बेलाबखत अवरुद्ध हुने गरेको स्थानीयवासी दुःखेसो व्यक्त गर्दछन्  । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!