प्रदेश सरकार मातहतका योजना समयमै सम्पन्न हुनुपर्छः मुख्यमन्त्री पौडेल

Posted on: 25 Oct, 2019

कात्तिक ८, हेटौडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहत रहेर शुरु भएका आयोजना समयमै सम्पन्न हुनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको रु पाँच करोड लागतमा निर्माणाधीन फुटबल मैदानको निर्माण कार्यको आज अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मैदान निर्माणको काम समय सीमाभित्रै सम्पन्न गर्न निर्देशन दिनुभयो । 

हेटौँडाको गौरीटार रङ्गशाला हाताभित्र निर्माणाधीन मैदानको अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले २०७६ सालभित्रै अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान पाउने उल्लेख गर्नुभयो । मैदानको निर्माणपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने हुँदा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकाससमेत हुने हुँदा रङ्गशाला तथा यसभित्रका संरचना निर्माण हुँदा स्थानीयले समेत चासो दिनुपर्ने धारणा राख्नुभयो ।

बाटो घाटो र पुल पुलेसोलाई मात्रै विकास देख्नु नहुने भन्दै मुख्यमन्त्री पौडेलले देशको विकासका लागि स्तरीय रङ्गशालासमेत आवश्यक पर्ने धारणा राख्नुभयो । “यस मैदानमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्ने हो भने बाटो घाटो मात्र हैन, देशको मुहार नै फेर्न सक्छौँ”, उहाँले भन्नुभयो । 

अवलोकनमा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले निर्माणकार्यको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । अवलोकनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता रहेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!