सगरमाथाको काखमा सडक, जोसुकै पर्यटक लुक्ला पुग्नसक्ने

Posted on: 22 Mar, 2019

भोजराज कार्की | चैत ८, सोलुखुम्बु (रासस) | चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पुर्याउने गाउँपालिकाले जनाएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हामु यस वर्षदेखि सडकमा जोडिँदै छ । 

अबको केही दिनमै गाउँपालिका–१ स्थित खरिखोलामा सडक पुग्ने गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले माप्यदूधकोशी गाउँपालिका–१ जुभिङको बुम्बुरीसम्म सडक पुगिसकेको छ भने खरिखोला पुग्न करीब चार किलोमिटर बाँकी छ । “सगरमाथाको काखमा सडक पुग्यो भन्दा फरक पर्दैन”, प्रवक्ता शेर्पाले भन्नुभयो, “सदरमुकाम सल्लेरीदेखि बुम्बुरीसम्म सवारीसाधन सञ्चालन भइसकेको छ ।” 

उहाँका अनुसार माप्यदूधकोशी र खुम्बुपासाङल्हामु गाउँपालिकाको संयुक्त लगानीमा सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । ट्र्याक खोल्न दुई गाउँपालिकाले रु ३९÷३९ लाख लगानी गर्ने सहमतिपत्र नै तयार गरेर काम अघि बढाइएको छ । रकम अपुग भए पुनः खर्च विवरणअनुसार दुवै गाउँपालिकाले बराबरी लगानी गर्ने सहमति भएको माप्यदूधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिनुभयो । विकास निमार्णमा दुई गाउँपालिका एक भएर अगाडि बढ्ने सहमति भएको उहाँको भनाइ छ । 

सरदमुकाम सल्लेरीदेखि ३० किलोमिटरमा रहेको माप्यदूधकोशी–२ अँधेरीसम्म यसअघिनै सडक पुगिसकेको थियो भने वडा नं १ हँुदै खुम्बुपासाङल्हामुको वडा नं १ को बुक्सासम्म ४० किलोमिटर सडक यस वर्ष निर्माण गरिनेछ । लुक्लासम्मको बाँकी करीब ३० किलोमिटर सडक आगामी आर्थिक वर्षमा निर्माण गरिने प्रवक्ता शेर्पाले जानकारी दिनुभयो । 

लुक्लामाथि सडक नलान सुझाव 

पर्यटकीय हिसाबले विश्वमै चर्चित ‘एभरेष्ट रिजन’मा घुम्ने पर्यटकलाई थप आकर्षित गर्न खुम्बुपासाङल्हामु गाउँपालिका केन्द्रसहित लुक्लाभन्दा माथि नलैजान पर्यटन व्यवसायीले सुझाव दिएका छन् । सडकमार्गलाई लुक्लाभन्दा माथि लगेमा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने हाइस्प्रिट ट्रेक्स एण्ड एक्सपिडीसन नेपाल प्रालिका सञ्चालक शिवबहादुर बस्नेतले बताउनुभयो । 

उच्च हिमाली क्षेत्रमा जाँदा अधिकांशलाई स्वास्थ्य समस्यासमेत देखिने हुँदा एकैपटक उचाइमा जान उपयुक्त नहुने यस क्षेत्रमा आबद्ध व्यक्तिको भनाइ छ । विसं २०५५ देखि पर्यटन क्षेत्रमा आबद्ध भई ‘आइसफल’ चिकित्सकको समेत भूमिका निर्वाह गरिसक्नुभएका याङ्दा शेर्पाले लुक्लादेखि पदमार्ग शुरु हुँदा ‘हाइअल्टिच्युट’को हिसाबले उपयुक्त हुने बताउनुहुन्छ । एक्कासि उच्च स्थानमा पुग्दा स्वास्थ्य समस्या देखिन्छ । “काठमाडौँको तापक्रम र लुक्लाकै तापक्रम धेरै फरक पर्ने हुँदा एक्कासि उच्च क्षेत्रमा पुग्नु राम्रो होइन”, शेर्पाले भन्नुभयो, “हामी सगरमाथा जाने बाटो बनाउने भए पनि लुक्लाबाट एक्कासि सगरमाथा आधार शिविर हेलिकप्टरमा पुग्यो भने हामीलाई पनि टाउको दुख्नेलगायतका समस्या देखापर्छ ।” 

त्यहाँको मौसम र पर्यटकको स्वास्थ्यलाई ध्यान दिँदा लुक्लाभन्दा माथि सवारीसाधनमा पुग्नु उपयुक्त नहुने आरोहीको भनाइ छ । हिमशृङ्खलाको दृश्यावलोकनका लागि समेत लुक्लादेखि पैदलयात्रा उपयुक्त हुने हुँदा सडक निर्माणमा सोहीअनुसार ध्यान दिन आवश्यक रहेको सगरमाथा आरोही किताबसिं तामाङको भनाइ छ । सगरमाथा क्षेत्रको साख जोगाउन राज्यले ध्यान दिनुपर्ने आरोही तामाङले बताउनुभयो । 

आधार शिविर पुग्न सात क्याम्प 

लुक्लादेखि सगरमाथा आधारशिविर पुग्न पर्यटकका लागि सात क्याम्प आवश्यक रहेको छ । लुक्लाबाट शुरु भएको पदयात्रा फाग्दिङ, नाम्चे, तेङ्बोचे, दिङबुचे वा फेरुचे, लुबुचे, गोरप्सेपदेखि आधार शिविर पुग्छ । सगरमाथा आधार शिविरबाट अधिकांश पर्यटक फर्कन्छन् भने केही आरोही सगरमाथाको शिखरतर्फ लाग्छन् । 

खुम्बुको पर्यटनमा सडकमार्ग 

अधिकांश पर्यटकको रोजाइ सोलुखुम्बुको खुम्बु क्षेत्र पर्छ । जसको मुख्य कारण हो, विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमाल एवं हिमशृङ्खला । वर्षको दुई ‘सिजन’मा विभिन्न राष्ट्रका हजारौं नागरिकले यस क्षेत्रको भ्रमण गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । सगरमाथा राष्ट्रिय निकुञ्ज, नजिकैबाट सगरमाथा हिमालसहित यहाँको अन्य मनोरम वातावरणको दृश्यावलोकनले अधिकांशको ध्यान तान्ने गरेको छ । विशेषगरी ‘स्प्रिङ’ र ‘विन्टर’ सिजनमा पर्यटकको भीड लाग्ने यस क्षेत्रमा मौसम राम्रो हुँदा बाह्रै महीना पर्यटकको चहलपहल हुने गरेको छ । 

खुम्बु क्षेत्रका लागि काठमाडाँैदेखि हप्ता दिनको पैदलयात्रा या तेञ्जिङ हिलारी विमानस्थल दुई माध्यम रहेको छ । अधिकांश पर्यटकको समय छोटो तर खुम्बु भ्रमणका लागि समय केही लामो भए प्रभावकारी हुने हुँदा हवाईमार्ग अधिकांशको रोजाइमा पर्छ तर, मौसम प्रतिकूल हुँदा हवाईसेवा प्रभावकारी हुँदैन । 

जति मात्रमा पर्यटक आउनुपर्ने हो त्यति आउन नसक्नुको मुख्य कारण तत्काल हवाईमार्गको विकल्प खुम्बुसम्म सडक नपुग्नु नै मानिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथासमेत रहेको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक सञ्जाल पुगेसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा दोब्बरले वृद्धि हुने हिमालयन जोइ एडभेन्चर प्रालिका प्रमुख चोलेन्द्र कार्की बताउनुहुन्छ । “हवाई टिकट महङ्गो हुनुको साथै एक दिन उडान रद्द भयो भने अन्य विकल्प छैन”, प्रमुख कार्कीले भन्नुभयो, “लुक्लासम्म सडक पुग्यो भने जस्तोसुकै पर्यटक त्यहाँ जान सक्छन् ।” 

विदेशी पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लुक्लाको दुईतर्फ भाडा ३६० अमेरिकन डलर रहेको छ । हिमालयन जोइ एडभेन्चर प्रालिका प्रमुख कार्कीले भन्नुभयो, “एकातिर सडकमार्गमा करीब ६० डलरले आउनजान पुग्छ, भने अर्कोतिर यात्राको टुङ्गो पनि भयो ।” 

हवाइ उडानसहित खुम्बु भ्रमणमा आउने पर्यटकलाई उडान रद्द हुँदा कुनै विकल्प नभएपछि पदप्रदर्शकलाई समेत समस्या हुने गरेको छ । “विमानस्थलको विकल्पमा केही पर्यटकले हेलिकप्टर प्रयोग गर्ने भए पनि अति महङ्गो हुने हुँदा पर्यटकलाई समस्या हुन्थ्यो” पदप्रदर्शक किताबसिं तामाङले भन्नुभयो, “मौसम प्रतिकूल हुँदा हामी पदप्रदर्शकलाई तनाव, विदेशीको ‘टाइम टु टाइम’ हुन्छ ।” 

पटकपटक उडान रद्द हुँदा काठमाडौँबाट खुम्बुका लागि आउने पर्यटकले भ्रमण क्षेत्र परिवर्तन गर्ने गरेका छन् । हाइस्प्रिट ट्रेक्स एण्ड एक्सपिडिसन नेपाल प्रालिका सञ्चालक शिवबहादुर बस्नेतका अनुसार पर्यटकको योजनामा उडान नहुँदा ट्रेकिङ कम्पनीलाई निक्कै गाह्रो हुने गरेको छ । सडकमार्ग सञ्चालन हुँदा पर्यटक, पथप्रदर्शक र ट्रेकिङ कम्पनीलाई समेत सहज हुने बस्नेतको भनाइ छ । खुम्बु आउने पर्यटकले अबको एक वर्षभित्र मौसमकै कारण कुनै पनि समस्या झेल्नु नपर्ने खुम्बुपासाङल्हामु गाउँपालिका उपप्रमुख टासील्हामु शेर्पाले बताउनुभयो । “यो वर्ष बुक्सासम्म पुग्छ”, उपप्रमुख शेर्पाले भन्नुभयो, “अर्को वर्ष हामी गाउँपालिका केन्द्र चौँरीखर्क पुर्याउँछौँ ।” 

बुक्सासम्म निर्वाधरूपमा यातायात सञ्चालन भए पर्यटक लुक्लादेखि एक क्याम्प थप गरी अर्को दिन सिधै काठमाडौँ पुग्न सक्छन् । यसका लागि ट्र्याक खोलिएको सडकको गुणस्तर मजबुत बनाउन खुम्बुपासाङल्हामु गाउँपालिका, माप्यदूधकोशी र सोलुदूधकुण्ड नगरपालिकाले संयुक्तरूपमा काम गर्नुपर्ने सर्वसाधरणको सुझाव छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!