स्थानीय तहमा भारी कर बृद्धि

Posted on: 14 Aug, 2018

साउन २९, कालिकोट | जिल्लाका अधिकांश स्थानीय तहले तीनदेखी र पाँच गुणा कर बृद्धि गरेका छन् । विगतमा एक सय रुपैयाँमा हुने राहदानी सिफारिसको अहिले ५ सय छ । साविकका गाविस हुँदा नागरिकता सिफारिसवाफत १० देखी १५ रुपैयाँ तिरे पुग्थ्यो । अहिले बढेर ५० रुपैयाँ तिर्नु परेको छ । निःशुल्क हुने पञ्जीकरणमा पनि स्थानीय तहले शुल्क लिने गरेका छन् ।

‘जन्म, मृत्यु, विवाह दर्ता ३५ दिनभित्र गर्न आए निःशुल्क छ,’ कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीप्रसाद पंगीनीले भने, ‘पछि आउनेलाई ५० रुपैयाँ जरिवाना लाग्छ ।’ उनका अनुसार नाता प्रमाणित, बसाइँसराइ, पिछडिएको क्षेत्र सिफारिस वापत सय रुपैयाँ लाग्छ । यस्तै घरको नक्सा पास गर्नु परे प्रति वर्ग फिट ५ रुपैयाँका दरले ४ कोठे एक तले घरको ५ सय रुपैयाँ लाग्छ । धारा बिजुली सिफारिस १ सय रुपैयाँ, भुमी करमा पाखो बारी एक सय वर्ग मिटरको ५ रुपैयाँ, खेत एक सय वर्ग मिटरको १० रुपैयाँ तिर्नु पर्छ ।

सम्पत्ती करमा कच्ची घरको १ सय ढुङ्गाको घरको १ सय ५०, सिमेन्ट जोडेको घरको २ सय र पक्की घरको प्रति वर्ग फिट १० रुपैयाँ कर निर्धारण गरिएको छ । यस्तै जिल्लाको तिलागुफा नगरपालिकामा पनि सामान्य सिफारिस १०० रुपैयाँ तिर्नु पर्छ । ‘जन्म, मृत्यु, विवाह दर्ता ३५ दिनभित्र गर्न आए निःशुल्क भएपनि ३५ दिन नाघे पछि १ सय जरिवाना तिर्नु पर्छ । यस्तै नगरमा उद्योग व्यवसाय दर्ताका लागि ५ सय रुपैया लाग्छ ।

जिल्लाका तीन वटै नगर र ६ वटा गाँउपालिकाले आर्थिक ऐन पारित गरेर लागु गरेका छन् । घर र जग्गाको एकीकृत सम्पत्ती कर तोकेका छन् । यस्तै जिल्लाको पलाता गाँउपालिकाले पनि सामान्य सिफारिसहरु गर्दा ५० रुपैयाँ लिने गरेको छ । त्यहाँका अधिकांश स्थानीय नागरिकहरु कालापहाड गएर पैसा कमाउँदै घरपरिवारहरु पाल्छन् ।

त्यसैबाट कमाएको पैसाले गाउँपालिकाको तिरो तिर्छन् । जिल्लाको खाँडाचक्र नगरले भिरालो जमिनमा प्रतिसय वर्गमिटरको ५ रुपैयाँ र खेतको १० रुपैयाँ कर लगाइएको छ। पाखो बारीको कर चर्को भएको स्थानीय रुद्र विश्वकर्माले बताए । उनले भने, ‘उत्पादन नहुने पाखोको पनि त्यही कर लगाएर गरिवको शोषण गर्ने काम भयो ।’ मालपोतमा जग्गापास गर्नुपर्ने वा बैंकमा धितो राख्नुपर्ने बाध्यतामा बाहेक अधिकांशले जग्गाको तिरो तिरेका छैनन् ।

नगरपालिकाले बसको ५०, ट्याक्टर र जीपको ३० तथा मोटरसाइकलको २० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । खाँडाचक्रले संस्था, समिति तथा समूह दर्ता र सिफारिसको २ हजार, नवीकरणको १ हजार, ५ लाखसम्मको योजना भुक्तानी सिरफारिसवापत ५ सय र त्यसभन्दा बढीको १ हजार रुपैयाँ तय गरिएको छ । जिल्लाका सबैजसो स्थानीय तहको सेवाशुल्क लगभग एउटै छ । ‘जग्गाको तिरोमा केही फरक छ । जिल्लाको नरहरीनाथ गाँउपालिकाले पनि जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता लगायतको प्रतिलिपि दिँदा नरहरिनाथले २ सय १० रुपैयाँ लिने गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!