राजविराज विमानस्थलको परीक्षण उडान सफल

Posted on: 23 May, 2018

जेठ ९, राजविराज | विसं २०१६ मा निर्माण गरिएको राजविराज विमानस्थलमा एक दशकपछि हवाइ जहाजको परीक्षण उडान गरिएको छ । 

बीचबीचमा उडान भइरहने यस विमानस्थलमा पक्की रन–वे निर्माण भएपछि पहिलो पटक ५० सिट क्षमताको श्री एयरलाइन्सको जहाजले आज सफल परीक्षण उडान गरेको हो । आधा घण्टा विमानस्थलमा बसेको जहाजले विमानस्थलको चारैतिर फन्को लगाएर परीक्षण गरेको विमानस्थलका इन्जिनियर रामएकवाल महतोले बताउनुभयो । 

यसअघि कच्ची धावनमार्ग रहेको विमानस्थलबाट पहाडी जिल्लाका लागि मात्रै जहाज उड्ने गर्थ्यो । तर पछि जहाज उड्न बन्द भएको थियो । २०६४ सालतिर करिब एक महिना तारा एयरले राजविराज–काठमाडौँ उडान भरेपनि त्यसपछि राजविराज विमानस्थलमा विमान उडान अवतरण हुन सकेको थिएन् । 

विमानस्थल रनवे स्तरोन्नतिको काम दुई वर्ष अघिदेखि शुरु भएर एक महिना अगाडि सम्पन्न भएको हो । विमानस्थलको बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विधिवत् उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

महतोले तत्काल श्री एयरलायन्सले राजविराज–काठमाडौँ उडान भर्ने मौखिक सहमति भएको बताउनुभयो । यद्यपि नियमित उडानको समय भने निर्धारण हुन नसकेको उहाँको भनाइ छ । 

विमानस्थलमा एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडाईको पक्की धावन मार्ग, ६० मिटर चौडाई र ९० मिटर लामो एप्रोन तथा एक सय दश मिटर लामो र २० मिटर चौडा ट्याक्सी–वे निर्माण सम्पन्न भइसकेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!