सोलुखुम्बुलाई उज्यालो नबनाई विद्युत् बाहिर नलगिने

Posted on: 06 Jan, 2018

पुस २२, सोलुखुम्बु । प्रदेशसभा (ख) का नवनिर्वाचित सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् जिल्लामा खपत नभए मात्र बाहिर निर्यात गर्न सुझाव दिनुभएको छ । 

बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलुखुम्बुलाई उज्यालो नबनाई बाहिर विद्युत् निर्यात गर्छु भन्ने सपना नदेख्न निर्माणाधीन विद्युत् कम्पनीलाई चेतावनी दिनुभयो । जलस्रोतको धनी सोलुखुम्बुमा विभिन्न कम्पनीमार्फत विद्युत् उत्पादन हुँदैछ । 

च्याल्सा विद्युत्को मुनाफा ९.७ प्रतिशत कम 

सल्लेरी च्याल्सा विद्युत् कंले आव २०७३÷७४ मा अघिल्लो आवको तुलनामा ९.७ प्रतिशतले आफ्नो खुद नाफामा कमी आएको प्रतिवेदन सार्वजनिक गरेको छ । आव २०७२/७३ मा रु एक करोड १८ लाख आठ हजार २६५ खुद नाफा कमाउन सफल भएकामा आव ०७३÷७४ मा रु ९१ लाख ९७ हजार ७०५ खुद नाफा भएको छ । 

आव २०७२/७३ मा नाजिङ र तोजिङ विद्युत् उपभोक्तालाई विद्युत् वितरण प्रणालीको काम गर्दा मुनाफामा कमी आएको कम्पनीका निवर्तमान कावा अध्यक्ष आङ्दामी शेर्पाले बताउनुभयो । 

कम्पनीको नयाँ योजना 

कम्पनीले निकट भविष्यमै एसएमएसमार्फत विद्युत् महसुलको जानकारी दिइने तथा अनलाइन पेमेन्टमार्फत विद्युत् महसुल भुक्तानी गर्न शुरुआत गर्ने आगामी वर्षको योजना रहेको जनाएको छ । 

छ सय ३३ किलोवाट क्षमताको कम्पनीको अहिले एक हजार ९०० घरधुरीले विद्युत् उपभोग गरिरहेका छन् । दैनिक एक घण्टा विद्युत्भार कटौती खेप्नुपरे पनि कम्पनीको सेवाप्रति सेवाग्राही सन्तुष्ट रहेको सेवाग्राही लक्ष्मण श्रेष्ठले बताउनुभयो । 

अध्यक्षमा डा शेर्पा 

च्याल्सा विद्युत् कम्पनीको नयाँ सञ्चालक समितिका अध्यक्षमा डा मिङ्मार ग्याल्जेन शेर्पा सर्वसहमतिले चयन हुनुभएको छ । साधारणसभाको बन्दसत्रले सञ्चालक समिति सदस्यमा आङ्दामी शेर्पा र दोर्जी शेर्पालाई चयन गरेको छ । अन्य सञ्चालक समिति सदस्य भने नेपाल विद्युत् प्राधिकरणबाट मनोनयन गर्ने कम्पनीले जनाएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!