अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने

Posted on: 10 Jan, 2021

पुस २६, वासिङ्टन | अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसक्नु भएको छ ।

राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहनु भएका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्न थाल्नु भएको छ । उहाँले नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको घोषणा गर्नु भएको थियो । 

बाइडेनको विजयलाई रोक्ने गरी कंग्रेसमा राष्ट्रपति ट्रम्पका समर्थकले आक्रमण समेत गरेका थिए । यस घटनामा संसद भवनभित्र र बाहिर गरी पाँच जनाको ज्यान गएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्रेट पार्टीले राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने तयारी गरिरहेका छन् । तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्रेटले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने चेतावनी दिइसक्नु भएको छ । 

यद्यपी यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिनु भएको छैन, तर विभिन्न संचार माध्यमले उपराष्ट्रपति पेन्सले अमेरिकी इतिहासमै हालसम्म प्रयोग नभएको संविधानको त्यस प्रावधानलाई प्रयोग नगर्ने बताएका छन् । एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!