अस्ट्राजेनिकाको कोभिड–१९ खोप परीक्षणमा समस्या

Posted on: 09 Sep, 2020

भदौ २४, लन्डन (रासस/एएफपी) । अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको खोप परीक्षणमा समस्या देखिएको भन्दै अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरेको जनाएको छ । 

खोप परीक्षणमा सहभागी एक व्यक्तिमा पहिचान नखुलेको एक प्रकारको स्वास्थ्य समस्या देखिए लगत्तै सम्पूर्ण परीक्षण कार्य स्थगन गर्नु परेको कम्पनीले मंगलबार जनाएको छ । 

अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप निर्माण गरिरहेको यो कम्पनी खोप विकासमा अग्रस्थानमा छ । हाल यस खोपको तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ । यस कम्पनीले कोरोनाको औषधि समेत निर्माणको प्रयास जारी राखेको छ । 

अस्ट्राजेनिकाका एक प्रवक्ताले खोप परीक्षणमा सहभागी व्यक्तिमा देखिएको समस्याका बारेमा अध्ययन गर्न एक स्वतन्त्र समितिले काम गरिरहेको जानकारी दिए । कम्पनीले ठूलो संख्यामा परीक्षण कार्य भइरहेकाले पनि एकाध व्यक्तिमा समस्या देखिनु स्वाभाविक रहेको बताउँदै तर त्यस्तो समस्याको निराकरणका उपाय पहिल्याउन जरुरी हुने जनाएको छ । कम्पनीले ती व्यक्तिको पहिचान खुलाएको छैन । 

अस्ट्राजेनिका हाल विश्वमा तेस्रो तथा अन्तिम चरणको खोप परीक्षण गर्ने विभिन्न ९ कम्पनीमध्ये एक हो । संयुक्तराज्य अमेरिकामा अस्ट्राजेनिकाले ३० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!