कोरोना संक्रमण ११ लाख माथि, चीन अब छैटौं स्थानमा

Posted on: 04 Apr, 2020

चैत २२, काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा ठूलो सङ्ख्यामा नागरिक सङ्क्रमित भएका मुलुकको सूचीमा फ्रान्स थपिएसंगै चीन सर्वाधिक कोरोना संक्रमितको सूचीमा छैटौं देश बनेको छ । शुक्रबारको आँकडासँगै फ्रान्सले भाइरस उत्पत्ति भएको चीनभन्दा धेरै मानिस सङ्क्रमित भएका अन्य मुलुकको सूचीमा पाँचौं स्थान बनाएको छ । 

यसअघि नै संयुक्त राज्य अमेरिका, स्पेन, इटाली र जर्मनीमा चीनमा भन्दा बढी सङ्क्रमित फेला परेका थिए । अमेरिकामा सर्वाधिक संक्रमित भेटिएका छन् । अमेरिकामा २ लाख ७७ हजार ५२२ संक्रमित पुगेका छन् भने ७ हजार ४०३ जनाको मृत्यु भईसकेको छ । 

दोश्रो सूचीमा रहेको इटालीमा १ लाख १९ हजार ८२७ संक्रमित छन् भने १४ हजार ६८१ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै तेश्रो स्थानमा रहेको स्पेनमा १ लाख १९ हजार १९९ जनामा कोरोनाको संक्रमित देखिएको छ भने ११ हजार १९८ जनाको मृत्यु भईसकेको छ । 

यता चौथो स्थानमा रहेको जर्मनीमा ९१ हजार १५९ जनामा कोरोनाको संक्रमण देखिएको छ । जहाँ १ हजार २७५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । 

त्यस्तै पाँचौं स्थानमा उक्लिएको फ्रान्समा संक्रमितको शंख्या ८२ हजार १६५ जनामा कोरोना संक्रमित छन् भने ६ हजार ५०७ जनाले ज्यान गुमाईसकेका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका एक निर्देशक जेरोम स्यालमनका अनुसार, यसअघि सरकारले अस्पतालहरूबाट प्राप्त तथ्याङ्क मात्र गनिरहेको थियो भने नर्सिङ होमबाट प्राप्त तथ्याङ्क जोड्दा मृतकको सङ्ख्या ६१ प्रतिशत र सङ्क्रमितको सङ्ख्या ४४ प्रतिशतले बढ्यो । यसअघि पेरिस सरकारले धेरै नागरिकहरूको सङ्क्रमण र मृत्युको रिपोर्ट लुकाएको भनेर धेरै आलोचना खेपेको थियो । 

चीनमा भने कोरोनाको संक्रमण मन्द गतिमा बढेको छ । चीनमा हालसम्म ८१ हजार ६३९ जनामा कोरोना संक्रमित भेटिएका छन् जहाँ आजसम्म ३ हजार ३२६ जनाको मृत्यु भईसकेका छन् । 

कोरोनाको संक्रमण र मृत्यु संख्याबारे चीनले सार्वजनिक गरेको तथ्यांकमाथि अमेरिकासँगै केही युरोपेली मुलुकहरूले प्रश्न उठाउँदै आएका छन् । चीनले सार्वजनिक गरेका तथ्यांक यथार्थ नभएको आशंका ती देशको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!