भारतको ३० सै राज्यमा फैलियो कोरोना, अप्रिल ५ मा ९ मिनेट बत्ति निभाउन मोदीको अपिल

Posted on: 03 Apr, 2020

चैत २१, काठमाडौँ | भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन उच्च गतिमा फैलिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । बिहिबार मात्र भारतमा सर्वाधिक बढी ४८६ जना नयाँ संक्रमित भेटिएको थियो । 

आज बेलुकासम्म भारतमा थप नयाँ संक्रमितको शंख्या ४२७ पुगेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  हालसम्म भारतमा संक्रमित मध्ये ७५ जनाको मृत्यु भएको छ भने २०६ जना निको भएका छन् । भारतमा कोरोना संक्रमितको जानकारी दिने covid19india.org का अनुसार यो समाचार तयार पार्दासम्म कुल २ हजार ९७२ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमध्ये भारतको सबैभन्दा बढी संक्रमित ४२३ जना महाराष्ट्रका हुन् । त्यस्तै दोश्रो स्थानमा तमिलनाडू छ जहाँ ४११ जना संक्रमित छन् भने दिल्ली तेश्रो स्थानमा छ, जहा ३८४ जनामा कोरोना संक्रमण भेटिएको छ । 


प्रधानमन्त्री मोदीको अपील

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अप्रिलका दिन राति ९ बजे ९ मिनटको लागी आ-आफ्नो घरको बिजुली बन्द गरेर मैनबत्ती, मोबाइल वा दियो बाल्न अपिल गरेका छन् । 

लकडाउनको क्रममा जनताको हौसला बढाउनको लागि मोदीले शुक्रवार एक भिडियो सन्देश मार्फत उक्त अपिल गरेका हुन् । उनले भिडियो संदेशमा ५ अप्रिलको रात ९ बजे घरको सबै लाइट बन्द गरेर, घरको ढोका वा बालकोनीमा उभिएर ९ मिनटको लागि मैनबत्ति, दियो, टर्च वा मोबाइलको फ्ल्यासलाइट बाल्न आग्रह गरेका छन् । मोदीले जनतामा कोरोना बिरुद्ध एकता रहेको सन्देश दिन उक्त अपिल गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!