भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

Posted on: 22 Aug, 2019

भदौ ५, एजेन्सी । भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ । सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार गर्यो ।

चिदम्बरमलाई बिहीबार सीबीआईलाई विशेष अदालतमा पेश गरिनेछ । चिदम्बरममाथि भ्रष्टाचारको आरोप छ जुन उनले अस्वीकार गर्दै आएका छन् । दिल्ली उच्च अदालतले उनलाई पक्राउबाट संरक्षण गर्ने निर्णय गर्न अस्वीकार गरेपछि पी चितम्बरमको गिरफ्तारीको सम्भावना बढेको थियो । यस दौरान उनी सर्वोच्च अदालतको शरण पनि गएका थिए । उनको मुद्दामा शुक्रबार सुनुवाई हुनेछ ।

लुक आउट नोटिस र पक्राउ अघिको ‘ड्रामा’

बुधबार साँझ करिब सवा आठ बजे पत्रकार सम्मेलन गरेर चिदम्बरमले आफूमाथि लागेको सबै आरोपको खण्डन गरेका थिए । उनले आफू नभागेको बरु आफ्नो हितको लागि कानुनको शरणमा गएको बताएका थिए । चिदम्बरम घर पुगेको केही मिनेटपछि नै सीबीआईको टिम उनको घर पुगेको थियो । तर सीबीआई पुगेपछि पनि चिदम्बरमको घरको गेट खोलिएन ।

त्यसपछि सीबीआईको टिमका सदस्यले पर्खाल नाघेर भित्र प्रवेश गरेका थिए । सुरक्षाको लागि दिल्ली प्रहरी पनि चिदम्बरमको घर बोलाइएको थियो । सीबीआई चिदमबरमको घर पुगेको खबर आएपछि समर्थकहरु उनको घरबाहिर जम्मा भएर उनको पक्ष र सरकारको विरुद्ध नारा लगाएका थिए ।

सीबीआई मङ्गलबार साँझ पनि चिदम्बरमको घर पुगेको थियो । उनी त्यहाँ नभएपछि सीबीआईले उनी विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो । सीबीआईले पक्राउ गर्ने समयमा नभेटेकाले उनी भागेको आशंका गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!