१० दिनपछि खोलियो जम्मुको प्रतिबन्ध, कस्मिरका केही ठाउँमा कायमै

Posted on: 14 Aug, 2019

साउन २९, एजेन्सी | जम्मु कस्मिरका प्रमुख सचिव कन्साल र  प्रहरी अतरिक्त महानिरीक्षक मुनिर खानले बुधबार पत्रकार सम्मेलन गर्दै सुरक्षा स्थिति पूर्ण रूपमा नियन्त्रणमा आएकाले ४ अगस्टदेखि  लगाएका प्रतिबन्ध हटाइएको बताएका छन् ।

अवस्था सामान्य भएकाले बुधबारदेखि बजार, यातायात, शिक्षण संस्था र अन्य व्यवसाय पनि खुलेको खानको दाबी छ। कस्मिरका केही स्थानमा भने प्रतिबन्ध कायम रहेको उनले बताए। खानले जम्मु कस्मिरमा अगस्ट १५ को स्वतन्त्रता दिवसका लागि तयारी भइरहेको जनाएका छन्।

नरेन्द्र मोदी सरकारले अगस्ट ४ गते रातिदेखि जम्मु कस्मिरमा टेलिफोन, इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो । जम्मु कस्मिरका पूर्वमुख्यमन्त्रीहरूसहित अरू केही नेतालाई नजरबन्दमा लिएको थियो । अगस्ट ५ देखि जम्मु कस्मिर कर्फ्यूजस्तै अवस्था थियो । सोही दिन गृहमन्त्री अमित शाहले भारतीय संविधानको धारा ३७० खारेज गर्ने प्रस्ताव राज्य सभामा पेस गरेका थिए। धारा ३७० ले  जम्मु कस्मिरलाई विशेष मान्यता दिन्थ्यो।

उक्त धाराको खारेजीसँगै शाहले जम्मु कस्मिरको पुनर्संरचना प्रस्ताव पनि संसदमा पेश गरेका थिए। जसअनुसार जम्मु कस्मिरको प्रदेशको मान्यता हटाएर केन्द्रशासित क्षेत्र बनाइएको छ। पहिला जम्मु कस्सिरमै रहेको लद्धाखलाई छुट्टै केन्द्रशासित क्षेत्र बनाइएको छ। शाहले पेस गरेका प्रस्ताव राज्य सभा र लोक सभाबाट बहुमतले पारित भएका छन्। 

मुस्लिमबहुल रहेको जम्मु कस्मिरमा सरकारी निर्णयको विरोध हुन सक्ने ठानेर सरकारले सञ्चारमाध्यम र  आवातजावतमा रोक लगाएको थियो। सरकारको कडा प्रतिबन्धका बीच कस्मिरमा केही छिटफुट प्रदर्शन भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!