ट्युसन सेन्टरमा आगलागी हुँदा २१ विद्यार्थीको जलेर मृत्यु, २० गम्भीर

Posted on: 25 May, 2019

जेठ ११, काठमाडौं । भारतको गुजरातमा विद्यार्थीहरुले खचाखच भरिएको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ । २१ जना विद्यार्थी गम्भीर घाइते छन् ।

गुजरात राज्यको सुरत शहरको तक्षशिला आर्केड (एक ट्युसन सेन्टर)मा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् । घटना हुँदा १५ देखि २२ बर्षका ६० छात्र-छात्राहरु उपस्थित थिए । 


माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए । आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए । त्यसबाट कतिपयको ज्यान जानुको साथै केही घाइते भएका छन् ।

‘आगोमा जलेर तथा हामफालर धेरै विद्यार्थीले ज्यान गुमाएका छन्’, सुरतका स्थानीय सरकारी अधिकारी दीपक सप्तलीले एएफपीसँग भनेका छन् । घटना यति दर्दनाक थियो कि परिवारजनले आफ्नो बच्चाको पहिचान समेत गर्न सकेन । परिवारजनले आफ्नो बच्चाको शव उसले लगाएको धडी र मोबाइलबाट पत्ता लगाएको थियो । 

घटनामा २० विद्यार्थी गम्भीर घाइते छन् । उनीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तर, प्रष्ट कारण खुलिसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगमा जुट्न स्थानीय अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!