होन्डाले बेलायतको प्लान्ट बन्द गर्ने, ३५०० रोजगारी जोखिममा

Posted on: 19 Feb, 2019

फागुन ७, टोकियो (रासस/एएफपी) | कार निर्माता कम्पनी होन्डाले मङ्गलबार बेलायतको एउटा ठूलो मोटर उत्पादन कारखाना (प्लान्ट) बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले प्लान्ट बन्द भएसँगै करिब तीन हजार ५०० जनाको रोजगारी गुम्ने सम्भावना रहेको जनाएको छ । 

इङ्ल्यान्डको दक्षिणपश्चिम स्वीन्डोनमा रहेको प्लान्ट होन्डाको युरोपेली युनियनमा रहेको एक मात्र प्लान्ट हो । यो प्लान्टबाट होन्डाको “सिभिक” मोडेलको कार विगत २४ वर्षदेखि उत्पादन हुँदै आएको थियो । यस प्लान्टबाट वार्षिक करिब एक लाख ५० हजार कार उत्पादन हुने गर्दछन् । 


यो प्लान्ट सन् २०२१ देखि पूर्ण रुपमा बन्द हुनेछ, होन्डाले घोषणा गरेको छ । युरोपेली क्षेत्रका प्रमुख अधिकृत काट्सुसी इनोउले एक विज्ञप्ति जारी गरी कम्पनीको यो निर्णय निकै कष्टपूर्ण रहेको बताउनुभएको छ । 

गत वर्ष होन्डाका युरोपेली वरिष्ट उपाध्यक्ष इयान हावेल्सले बिना सम्झौता युरोपेली युनियनबाट बेलायतको बहिर्गमन भएमा त्यसले कम्पनीलाई करोडौं पाउन्ड घाटा हुने बताउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!