बेलकामा प्रहरी र आन्दोलनकारीबीच झडप

Posted on: 02 Aug, 2020

साउन १८, उदयपुर | उदयपुरको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, सङ्घीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी बजारको जनजाति हल परिसरमा गर्ने सम्झौता भएको थियो । बरगाछी क्षेत्रमा कोरोना सङ्क्रमण व्यापक फैलिएको कारण २५ जनामात्र भेला भएर कार्यक्रम गर्ने भनिए पनि ५०० भन्दा बढीको सङ्ख्या आन्दोलनकारी आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेको र नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा बसेका प्रहरी र आन्दोलनकारीबीच झडप भएको इप्रका रापुरले बताएको छ ।

आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ भने आन्दोलनकारीपट्टि पनि एकजना घाइते भएको इप्रका रामपुर ठोक्सिलाका प्रमुख तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो । नगरपालिका हल परिसरमा प्रहरीले कार्यक्रम गर्न नदिएपछि अहिले आन्दोलनकारीहरुले नगपालिकाको गेटबाहिर कार्यक्रम गरिरहेको प्रहरीले जनाएको छ ।

यता नेकपा पार्टी बेलका नगरपालिकाले पनि विपक्षीले बेमौसमी आन्दोलन गरेर बेलका नगरपालिकामा अतिक्रमण गर्न खोजेको भन्दै एक विरोध जुलुस निकालेर अहिले स्थानीय बुद्धचौकमा सभा गरिरहेको प्रहरीले उल्लेख गरेको छ । बेलकामा दिनदिनै कोरोना सङ्क्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बेलकाको बरगाछी तथा रामपुर बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइएको भए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!