पर्वतको चुवामा यसरी बन्दैछ आठ करोडको लागतमा विष्णुवाटिका

Posted on: 07 May, 2019

पर्वतमा पछिल्लो चरणमा धार्मिक क्षेत्रको विकासले तिव्रता पाएको छ । स्थानीयको सक्रियता र जन प्रतिनीधिको तदारुपता भएपछि वडा स्तरबाटै विभिन्न धार्मिक महत्वका स्थानहरुको विकास हुन लागेको हो । कुश्मा नगरपालिका–८ चुवामा कुश्मा–वाग्लुङ, हुँदै मुस्ताङ जोड्ने भुपी शेरचन राजमार्ग नजिकै आठ करोड लागतमा विष्णु वाटिकाको निर्माण हुन लागेको हो । 

६ करोड ७९ लाखको डिपिआर तयार पारीएको यो योजनामा भगवान विष्णुको विशाल मुर्ति निर्माणको योजना समेत रहेको हो । साथै एकसय आठ पिपल चौतारी, एकसय आठ तुलसी मोठसँगै शालिग्राम शिला संग्राहलयको समेत योजना तयार पारीएको छ । 

तुलसी मोड सहीतको चौताराको लागत एक लाख लाग्ने वडाले जनाएको छ । वडा अध्यक्ष राजकुमार क्षेत्रीले तीन वर्षमा आयोजना सक्ने गरी काम भईरहेको बताए ।

डिपिआर अनुसार एक चौतारादेखी अर्को चौताराको दुरी नौ मिटर कायम गरीएको छ । यसै गरी सबै चौतारा सहितको १२ किलो मिटरको पैदल मार्ग तयार हुने र चौताराको परिकर्मा गर्न मिल्ने गरी संरचना तयार पार्न लागेको निर्माण समितिका अध्यक्ष कुल प्रसाद शर्माले बताए । 

राजमार्ग नजीकै निर्माण हुन लागेको विष्णु वाटिकाले हिन्दुधर्मको धामको रुपमा रहको मुक्तिनाथ दर्शनलाई जोडेर विष्णु वाटिका मुक्ति मार्ग नामाङकरण गरिने भएको छ । ४० रोपनी क्षेत्रफलमा फैलिएको विष्णु वाटिका पार्कमा एकसय आठ जना धार्मिक व्यक्तिले नै एकसय आठ पिपलबोट सहितको चौतार निर्माण गर्न लागेका हुन । 

वाडा सदस्य सुरेन्द्र केसीले नजिकै रहेको मोदीवेणी धाम स्नान र सहस्श्रधारा गुप्तेश्वर गुफा सँगै मुक्तिनाथ दर्शन गर्नपनि मुक्तिमार्ग पार गर्नुपर्ने धार्मिक मान्यता अनुसार विष्णु वाटिका मुक्तिमार्ग निर्माण गर्न लागिको बताए । 

तीन वर्षसम्म सकिने गरी निर्माण थालिएको विष्णु वाटीका गएको मंसिरदेखी निर्माण थालिएको हो । अहीलेसम्म १२ चौतारा निर्माण गरीसकिएको वाटिका निर्माणपछि कुश्मा नगरपालिका मात्र नभई समग्र पर्वत कै धार्मिक पर्यटनमा विकास हुनुको साथै स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने समितिले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!