साढे ४ लाखले कर्णाली भ्रमण गरे

Posted on: 22 Apr, 2019

 बैशाख  ९, सुर्खेत ।कर्णाली रारा भ्रमण बर्ष घोषणा भएको पहिलो बर्ष कर्णालीमा साढे चार लाख पर्यटक आएको तथ्याङ्क मन्त्रालयको छ । विभिन्न जिल्लामा ४ लाख ५४ हजार ८ सय ६४ जना पर्यटक कर्णालीमा आएको कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन,  वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए ।

आइतबार वीरेन्द्रनगरमा रारा कर्णाली भ्रमण बर्ष २०७५ को उपलब्धी सार्वजनिक गर्दै उनलेसबैभन्दा बढी सुर्खेतमा १ लाख ६२ हजार ८ सय ६१ र सबैभन्दा कम ८ हजार ३ सय ५४ पर्यटक डोल्पामा आन्तरिक पर्यटक आएको उनले जानकारी दिए । ‘हामीले विभिन्न पर्यटकीय स्थलको आगन्तुक पुस्तिका प्रवेश शुल्कको रसिद र मन्त्रालयले आन्तरिक रुपमा बनाएको समितिले संकलन गरेको तथ्याङ्कका आधारमा कर्णालीमा आएका पर्यटकको संख्या निकालिएको हो’ उनले भने ।


अघिल्लो आर्थिक बर्षको तुलनामा कर्णालीमा पाँच हजार भन्दा बढी बाह्य पर्यटक आएको बताए । आ. व २०७५÷०७५ मा १५ हजार ८ सय ६४ जना बिदेशी पर्यटक आएकोमा चालु आर्थिक बर्षको नौ महिनामै २१ हजार २ सय ९१ बिदेशी पर्यटक कर्णाली आएको उनले बताए । पर्यटक पर्बद्धनका लागि कर्णालीमा एक बर्षमा ५६ स्थानमा मेला र महोत्सव आयोजना गरिएको जनाइएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न जिल्लाका १ सय १ पर्यटकीय क्षेत्रहरु पहिचान गरी पर्यटन गन्तव्यका रुपमा घोषणा गर्ने तयारी गरिएको उनको भनाई छ । पर्यटकीय क्षेत्र पहिचानका लागि स्थानीय तहहरुसंगको समन्वयमा काम थालिएको उनको भनाई छ । ‘पर्यटकीय क्षेत्रको पहिचानका लागि मापदण्ड निर्धारण गरी स्थानीय तहहरुसंगको समन्वयमा तथ्याङ्क संकलन गरीरहेका छौ’ मन्त्री बुढाले भने, ‘सबै जिल्लाका पर्यटकीय क्षेत्रको सूची प्राप्त भए पछि सार्वजनिक गर्नेछौ ।’

कर्णालीमा पर्यटक प्रबद्र्धन गर्न र पर्यटकीय गतिविधी बढाउन कर्णाली सरकारले प्रदेश पर्यटन बिकास बोर्ड गठन गर्न लागेको उनले जानकारी दिए । बोर्ड गठनका लागि मन्त्रालयले गठनादेश जारी गर्ने गरी मन्त्रीपरिषद्मा लैजाने तयारी गरेको मन्त्री बुढाले बताए । उनले कर्णालीको समग्र पर्यटन बिकासका लागि पर्यटन गुरुयोजना निर्माण गर्न परामर्श दाता छनौटको प्रक्रियामा रहेको बताए । ‘कर्णालीमा पर्यटक बिकासका लागि हामीले गुरुयोजना बनाउने तयारी गरेकाछौ’ उनले भने, ‘यसका लागि कन्सल्टेन्ट छनौटको प्रक्रिया पनि सुरु गरिसकिएको छ ।’ उनले गुरुयोजना कार्यान्वयन मार्फत कर्णालीमा पर्यटक बिकास गर्न सकिने बताए ।

‘अनियमितता होइन कमजोरी हो’

बर्षमा ५ लाख पर्यटक कर्णालीमा भित्र्याउने महत्वाकांक्षी निर्णयसहित निकै तामझामा साथ सुरु गरिएको कर्णाली रारा भ्रमण बर्ष २०७५ को उद्घाटन समारोहमा अनियमितता नभएको मन्त्री बुढाको दावी छ । ‘ठुलो कार्यक्रम गर्दा केही व्यवस्थापकीय कमजोरी भएको हुनसक्छ तर उद्घाटनमा कुनै किसिमको अनियमिततार भ्रष्टाचार भएको छैन’ उनले भने । उद्घाटन समारोहमा ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च विवरण समेत सार्वजनिक गरे । महालेखा परिक्षकले पनि उक्त खर्च लेखापरिक्षण गरेको भन्दै मन्त्री परिषद्का विभिन्न निर्णयका आधारमा खर्च गरिएको उनले स्पष्ट पारे ।

यस अघि कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले उद्घाटन समारोहमा लाखौ अनियमितता भएको भन्दै कार्वाहीका लागि मुख्यमन्त्रीलाई निर्देशन दिएको थियो । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले उक्त कार्यक्रममा २८ लाख ७२ हजार ८ सय ७३ रुपैयाँ अनियमितता भएको निश्ष्कर्ष निकालेको थियो । २८ चैत्र २०७४ मा कर्णाली सरकारको मन्त्री परिषद् बैठकले कर्णाली रारा भ्रमण बर्ष उद्घाटनका लागि ४६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी दिए पनि उक्त कार्यक्रममा मन्त्रालयले फरक फरक विवरण पेश गरे पछि संसदको लेखा समितिले अनियमितता भएको निश्कर्ष निकालेको थियो ।

‘अर्थमन्त्रीले खर्च पेश गर्दा फरक पर्यो’

रारा कर्णाली बर्ष बर्ष उद्घाटन समारोहमा अनियमितता भएको भन्दै २४ जेठ २०७५ मा संसदको प्रमूख प्रतिपक्षी नेपाली काँग्रेसलेसंसद बैठक अवरुद्ध गरे पछि कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ४९ लाख ४१ हजार ७ सय ९५ रुपैयाँ खर्च भएको विवरण संसदमा पेश गरेका थिए । उक्त खर्च बिषयगत मन्त्रालय भन्दा फरक मन्त्रालयले पेश गर्दा खर्चको रकम परेक परेको मन्त्री बुढाले बताए । ‘हामीलाई खर्च पेश गर्न भनेको भए त्यही अनुसार तयारी गरी संसदमा पेश गथ्र्यौ । अर्थमन्त्रीले पेश गर्दा फरक परेको हो’ उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!