पर्यटनलाई प्रमुख आधार बनाऔँ: राज्यमन्त्री जवेगू

Posted on: 18 Sep, 2016

प्रकाश धौलाकोटी | असोज २, तेह्रथुम । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले यहाँका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । राज्यमन्त्री जवेगूले पर्यटन यहाँको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्ने बताउँदै त्यसतर्फ ध्यानाकर्षण गर्ने बताउनुभयो ।

 सरकारले यहाँका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारसँगै त्यस क्षेत्रमा पुर्वाधार विकासमा समेत जोड दिने बताउनुभयो । शनिबार लालीगुराँस नगरपालिका स्थापनाको दोश्रो वर्ष प्रवेशको अवसरमा आयोजित समारोहमा बोल्दै राज्यमन्त्री जवेगूले नगरपालिकाको भवन तथा जिल्ला विकास समितिको भवन निर्माणलाई प्राथमिकता दिने बताउनुभयो । 

कार्यक्रममा स्थानीय निकाय पुनर्संरचना गर्दा लालीगुराँसलाई नगरपालिका नै कायम राख्न गरेको मागप्रति आफु सकारात्मक रहेको भन्दै त्यसकालागि सक्दो पहल गर्ने बताउनुभयो । नगरपालिका बन्ने भविष्य तपाईहरुसँग छ, तर अहिले खाली पुर्वाधार नभएको मात्रै हो, त्यसको विकासमा तपाईहरु ध्यान दिनुस्, उहाँले भन्नुभयो । 

राज्यमन्त्री जवेगूले लालीगुराँस अहिले गाउँपालिका नै भएपनि भविष्यमा नगरपालिका बन्नेमा कुनै शंका नभएको बताउनुभयो । उहाँले यहाँको नगर विकासको अवधारणाको प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा बोल्दै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, माओवादी केन्द्रिय सदस्य तथा तेह्रथुम अध्यक्ष दुर्गाप्रसाद चापागाई र नगर विकास समितिका अध्यक्ष अर्जुनबाबु माबोहाङले नगरपालिकालाई वार्षिक उत्सवका अवसरमा शुभकामना दिनुभएको थियो । 

वार्षिक उत्सवका अवसरमा नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण गर्न विशेष योगदान गर्ने लालीगुराँस नगरपालिका वार्ड नं. २ निवासी उदयबहादुर खड्का र भीमबहादुर सुवेदीलाई कदर पत्रसहित सम्मान गरेको छ । यस्तै सो अवसरमा आयोजित विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रममा रत्न उच्च मावि सोल्मा प्रमुख, बसन्त उच्च मावि द्धितीय, बसन्त सदन अंग्रेजी आवासीय मावि बसन्तपुर तृतीय भएका छन् । विजयीहरुलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

 यस्तै सहभागी सबैलाई समेत सान्त्वाना पुरस्कारको व्यवस्था गरिएको थियो  । उत्सवका अवसरमा नगरपालिकालाई हालै प्राप्त भएको दमकलको चाबी प्रमुख अतिथि राज्यमन्त्री जवेगूले नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गर्नुभयो ।

 कार्यक्रम राज्यमन्त्री जवेगूको प्रमुख अतिथ्यता तथा नगरपालिकाका कार्यकारी अधिकृत मणिराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरको पहिलो वार्षिक उत्सवका अवसरमा नगरबासीले ढोल नाच, हुर्रा नाँच, नौमती बाजा, संगिनी नाच, साकेला र सेलो सहितको र्यालीले बजार परिक्रमा गरेका थिए । वर्षाका कारण मुख्य चौकमा हुने भनिएको कार्यक्रम निर्माणाधीन सामुदायिक भवनमा गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!