सडक निर्माणले मासियो पदमार्ग

Posted on: 25 Jan, 2019

प्रकाश धौलाकोटी | माघ ११, तेह्रथुम | प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । यहाँको प्राकृतिक सम्पदा, पर्यटन र पर्यावरणलाई वास्तै नगरी भएको सडक निर्माणका कारण पदमार्ग मासिएको हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् । 

राष्ट्रिय फुल लालीगुराँससहित एकै ठाउँमा यति धेरै प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले समेत चिनिन्छ । यही क्षेत्र भएर कञ्चनजंघा आधार शिविरतर्फ अघि बढेको पदमार्ग सडक निर्माणले मासिएपछि अहिले खासगरी विदेशी पर्यटकहरुको आवागमन पातलिएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण टिएमजे क्षेत्रको व्यवस्थापन र पर्यटकीय माहोल निर्माणमा पर्याप्त ध्यान पुग्न नसक्दा यो गन्तव्य ओझेलमा परेको हो ।

सडक निर्माणले वर्षौंदेखि पैदल हिँड्न प्रयोग हुँदै आएको पदमार्ग मासिएको मादी नगरपालिकाको चौकीबजारका व्यवसायी उदयकुमार तामाङ बताउनुहुन्छ । पैदल हिँड्ने बाटोसँगै सडकको ट्र्याक खोलिएपछि सडकमा उड्ने धुलोले पैदल यात्रुलाई हतोत्साही बनाएको छ । सडकमा सुविधायुक्त र साना सवारीका साधन गुड्दैनन् । यहाँको प्रकृति र सुन्दरतासँग रमाउँदै पैदल हिँडेर टिएमजे छिचोल्दै ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन, तमोरमा र्याफ्टिङ, कञ्चनजंघा, मकालु लगायत हिमशृंखलाको अवलोकन गर्ने उद्देश्यले आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । 

सडकले ती क्षेत्रका बासिन्दालाई उपभोग्य सामान ढुवानीदेखि आवतजावतमा सहज बनाइदिएको भए पनि पैदल हिँड्दै प्रकृतिसँग रमाएर मनोरञ्जन लिन चाहने पर्यटकहरुले प्रयोग गर्दै आएको पदमार्ग भने मासिएको हो । “सडक बनेपछि सवारी त गुडे तर, मान्छे नै आउन छाडे,” चौकीबजारका व्यवसायी तामाङले भन्नुभयोे । सडकले सुविधा पुगे पनि यो क्षेत्रको सुन्दरता क्रमशः नासिँदै गएको उहाँको तर्क छ । “सडक छ, गाडी गुड्छन् तर, हामीलाई यसले फाइदा दिएन,” गुफाबजारका व्यवसायी हरि खनालले भन्नुभयो । 

तेह्रथुमको वसन्तपुरदेखि टुटे, घुर्मिसे, तीनजुरे, संखुवासभाका चौकी, मंगलबारे, गुफा हुँदै ताप्लेजुङको साँघुसम्म अहिले दैनिक बस, ट्याक्सी लगायत सवारीका साधनहरु पुगिरहेका छन् । सडकले आवतजावतका लागि सहज भए पनि यो क्षेत्रको पर्यटकीय सुन्दरता मासिँदै गएको खनालले बताउनुभयो । 

सडक बनेपछि आन्तरिक पर्यटकको सङ्ख्या भने बढेको छ । कोशी राजमार्गको धरान–धनकुटा हुँदै वसन्तपुरबाट एकै दिनमा तीनजुरेसम्म पुगेर फिर्नेको सङ्ख्या बढेको छ । वसन्तपुरसम्म कालोपत्रे सडक भए पनि यहाँ भन्दा माथि कच्ची सडक भएर यात्रा गर्नुपर्छ । पर्याप्त सवारीका साधन छैनन् । साना सवारी गुड्दैनन् । चाहिएका बेला घुम्न आउने पर्यटकले भाडाका सवारी पाउँदैनन् । 

पैदल हिँडेर माथिसम्म पुग्न धुलाम्मे सडकलाई छिचोल्नुपर्छ । सडकले यहाँको प्राकृतिक सुन्दरतामा प्रत्यक्ष असर पु¥याएको वसन्तपुरका पर्यटन व्यवसायी छिरिङ लामा बताउनुहुन्छ । “पहिले वर्षेनी हजारौँको सङ्ख्यामा विदेशी पर्यटक आउथे, पैदलै यी क्षेत्र घुमेर कञ्चनजंघासम्म पुग्थे,” उहाँ भन्नुभयो – “तर, यहाँका सडकमा गाडी कुद्न थालेपछि विदेशी पर्यटकहरु देखापरेका छैनन् ।” 

विदेशी पर्यटकहरु आउँदा वसन्तपुरबाट गुफासम्म पुग्नै तीन दिन लगाउँथे । यहाँका हरेक पाँच किलोमिटरको दूरीमा रहेका लेकाली बजारमा होटल खोल्ने र स्थानीय उत्पादनको व्यापार गर्नेहरुको व्यवसाय फस्टाएको थियो । तर, अहिले सडक बनेपछि यहाँका कोही पनि बस्दैनन् । यहाँ व्यवसाय गर्नेहरु पलायन भएका छन् । जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको पर्यटन व्यवसायी लामाको बुझाइ छ । 

त्यसो त सडकले पर्यटकलाई आवतजावत गर्न पनि सहज बनाइदिएको छ तर, यहाँको भूगोल र वातावरणलाई ध्यानमा राख्दा वसन्तपुरदेखि माथि पैदलै यात्रा गर्नु मै आनन्ददायी हुने उहाँको तर्क छ । पदमार्ग भएर आउने पर्यटक प्रभावित भएपछि यहाँका अचुक सम्भावना बोकेका गन्तव्यहरु छायामा परेको लामा बताउनुहुन्छ । यो क्षेत्र नेपाल पर्यटन वोर्डले पूर्वी नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमध्येमा सूचीकृत गरेको क्षेत्र पनि हो । अझै, पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको १०० गन्तव्यको सूचीमा समेत यो क्षेत्र परेको छ । 

सरकारले गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न लामो समयदेखि अध्ययन गरिरहेको भए पनि यहाँको पदमार्ग जोगाउनेतर्फ कसैको ध्यान गएको छैन । सडक निर्माणका कारण यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मासिँदा पर्यटन व्यवसाय नै प्रभावित भएकोे पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो – “वर्षको छ महिना कुमारी रहने यो क्षेत्रको महत्व पदमार्गबाट यात्रा गरे मात्र थाहा हुन्छ तर, त्यो अब मासिँदैछ ।” अहिले वसन्तपुरदेखि ताप्लेजुङको दोभान जोडिने सडक मदन भण्डारी लोकमार्गको रुपमा निर्माणाधीन छ । निर्माणाधीन सडकमा सवारी गुडाउँदा आसपासको पर्या–पर्यटनमा प्रत्यक्ष असर पुगेको र कुरुप बन्दै गएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो । यहाँको पदमार्ग मासिएपछि बाह्य देशबाट आउने पर्यटकहरुले अन्यत्रैबाट आउजाउ गर्न थालेका छन् । 

विश्वमा ४२ प्रजातिका गुराँसहरु पाइने बताइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । तीमध्ये पनि यस क्षेत्रमा मात्रै २८ प्रजातिका गुराँस पाइनाले यो क्षेत्र विश्वभर चर्चित छ । हरेक वसन्त ऋतुसँगै गुराँस फुलेर यहाँका डाँडाकाँडा र वनपाखा रङ्गीचङ्गी बन्ने गर्छ । लेकाली जनजीवन, गुराँस फुल्दा मात्रै हैन, प्राकृतिक, जैविक र सांस्कृतिक रुपमा पनि उत्तिकै रमणीय छ । यो क्षेत्र बाह्रै महिना पर्यटकहरु आउने क्षेत्र पनि हो । तर, यथेष्ट सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक आगमन अत्यन्तै न्यून बन्दै गएको छ । बा¥है महिना अध्ययन, अवलोकन र पैदल यात्राका लागि उपयुक्त मानिने यो क्षेत्रका अधिकाँश भू–भाग एउटै उचाइमा छ । करीब दुई हजार देखि ३ हजार ३०० मिटर उचाइसम्म फैलिएको यो क्षेत्रका अनेकन विशेषताहरु छन्, जुन उजिल्याउनै बाँकी छ । 

चैत–वैशाखमा यो क्षेत्र विभिन्न प्रजातिका रङ्गीचङ्गी गुराँस फुलेर ढकमक्क हुन्छ । अन्य समयमा यहाँका डाँडा–काँडा, पाखा–पखेरा, सुन्दर प्राकृतिक पोखरीहरु, लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतिहरु, आकर्षक मकालु र कञ्चनजंघा सहितका हिमशृंखलाको दृश्यावलोकन गरेर आनन्द लिन सकिन्छ । यहाँका लेकाली–हिमाली जनजीवनसँगै चौंरीपालन र भेंडाका बथान प्रत्यक्ष रूपमा हेर्न पाइन्छ । 

यो क्षेत्रमा पदमचाल, कुड्की, बिखुमा, सतुवा, विष, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पाइन्छ । झण्डै १२० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञहरूको प्रतिवेदनमा उल्लेख छ । शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू, तामाङ जातिको परम्परा, संस्कृति, वेशभूषा, रहनसहन यहाँका सांस्कृतिक आकर्षण हुन् । 

विशेषगरी यो क्षेत्रमा हरेक वर्ष साउनदेखि जेठसम्म पर्यटकको भीड लाग्छ । यहाँको पदमार्ग भएर पर्यटकहरु भदौदेखि पुससम्म ओहोरदोहोर गर्छन् तर, अहिले सडकले पदमार्ग प्रदूषित बनाएपछि पदमार्ग मासिन पुगेको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो – “सडक छन्, सवारी छैनन् । सडक कच्ची छ । त्यसैले होला, पर्यटकको सङ्ख्या पनि घटेको छ ।” त्यसो त यो क्षेत्रमा वार्षिक कति पर्यटक आए भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन । गुफाबजारमा गत वर्ष मात्रै स्थानीय युवाकै अगुवाइमा पर्यटन सूचना केन्द्र खोलिएको छ । केन्द्रलाई व्यवस्थित गर्न बाँकी रहेको केन्द्रका सचिव सन्तोष लिम्बुले बताउनुभयो । 

नेपाल प्रहरीले वसन्तपुर, टुटे र गुफाबजारमा पर्यटकको आगमनबारे सङ्कलन गरेका तथ्याङ्कलाई नै आधिकारिक मान्ने गरिएको छ । सरकारी लगानीबाट पर्यटकहरुका लागि सूचना दिन केन्द्र स्थापना गर्ने भनेर भवन निर्माण गरिए पनि लालीगुराँस नगरपालिकाको केन्द्रमा निर्माण भएको सो भवन वर्षौंदेखि प्रयोगविहीन छ । यहाँ आउने अधिकाँश मानिसहरु यहाँको खास महत्व नै बुझ्न नपाई फिर्न बाध्य रहेका छन् । 

यो क्षेत्रमा विगतमा जस्तो विदेशी पर्यटक आउन छाडेका इलाका प्रहरी कार्यालय गुफाबजारले जनाएको छ । प्रहरीका अनुसार पहिले ५०–६० जनाको समूहमा आउने विदेशीहरु अहिले भने छिटफुट मात्रै देखिन्छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!