विकास निर्माणमा गम्भीर हुन मन्त्री भट्टराईको आग्रह

Posted on: 25 Oct, 2019

कात्तिक ८, ताप्लेजुङ | संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विकास निर्माणको काममा लापरवाही हुन थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । विकास निर्माणका लागि गठित उपभोक्ता समितिबाट समयमा काम नहुने र हिनामिना गर्ने प्रवृत्ति बढ्दै गएको उहाँले बताउनुभयो । 

ताप्लेजुङमा आज आयोजित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले हरेक आयोजनाहरु समयमा सम्पन्न नहुँदा र ती आयोजनाबाट जिम्मेवार पक्षले नाजायज फाइदा लिँदा समृद्धिको सपना पूरा हुन नसक्ने स्पष्ट पार्नुभयो । हरेक उपभोक्ता समिति राजनीतिक दलको दबाब र प्रभावमा बन्ने अनि उसैको आड लिएर उपभोक्ता समितिले हिनामिना गर्ने जस्ता प्रवृत्ति बढ्दै गएकाले यसलाई रोक्न सबै राजनीतिक दल र जनप्रतिनिधिलाई उहाँले आग्रह गर्नुभयो । 

बैठकमा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए । यसैबीच आजै नेकपा ताप्लेजुङले आयोजना गरेको दशैँ तिहार शुभकामना आदानप्रदान कार्यक्रममा समेत मन्त्री भट्टराई सहभागी हुनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!