तनहुँको व्यास नगरपालिकाले दुई सय विद्यार्थीलाई न्यानो कपडा वितरण

Posted on: 03 Jan, 2019

 पुस १९, दमौली (रासस) : तनहुँको व्यास नगरपालिका–१ ले वडाभित्र सञ्चालनमा रहेको तीन सामुदायिक विद्यालयका २०० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । 

वडा कार्यालयले भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक र मुसेखोलास्थित जनसेविका आधारभूत विद्यालयमा अध्ययनरत विपन्न एवं जेहेन्दार छात्रछात्रालाई न्यानो कपडा वितरण गरको हो । 

निर्मल माविका १००, जलदेवी माविका ८० र जनसेविका आधारभूत विद्यालयका २० विद्यार्थीलाई स्वेटर र टोपी प्रदान गरिएको वडाध्यक्ष खरसिंह दरैले बताउनुभयो । उहाँले आर्थिकरूपमा विपन्न बालबालिकालाई सहयोग गर्नु सबैको दायित्व रहेको भन्दै वडाभित्र सञ्चालित अन्य विद्यालयका विद्यार्थीलाई समेत न्यानो कपडा वितरण गरिने जानकारी दिनुभयो । 

विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग 

तनहुँको दमौलीस्थित बाराही आवासीय माविमा अध्ययनरत विद्यार्थीले रिसिङ गाउँपालिका–१ कोइदिमस्थित अमर माध्यमिक विद्यालयका छात्रछात्रालाई बुधबार न्यानो कपडा सहयोग गरेका छन् । तिहारमा विद्यार्थी र शिक्षकले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले अमर माविका ७८ छात्रछात्रालाई न्यानो कपडा वितरण गरिएको शिक्षक विपीन गौलीले जानकारी दिनुभयो । 

बाराहीका विद्यार्थीले विगत तीन वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा सञ्चालित विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएका छन् । अमर माविका प्रधानाध्यापक कर्मसिं थापाले विद्यार्थीद्वारा विद्यार्थीलाई नै सहयोग गर्ने कार्य उदाहरणीय रहेको बताउनुभयो । 

समायोजन आवेदन भर्न सहायता कक्ष 

जिल्ला प्रशासन कार्यालय तनहुँले सरकारी कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पुर्याउने उद्देश्यले बुधबारदेखि सहायता कक्षा सञ्चालनमा ल्याएको छ । 

कर्मचारी समायोजन अध्यादेश, २०७५ जारी भइसकेको र कर्मचारीलाई समायोजनको लागि अनलाइन आवेदन भर्न सहयोग पुर्याउन कार्यालयले प्रशासकीय अधिकृत रामप्रसाद ढकालको संयोजकत्वमा सहायता कक्षा सञ्चालनमा ल्याएको हो । 

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सहायता कक्षले अनलाइन आवेदन भर्न नसक्ने कर्मचारीको लागि आवेदन भर्न सहयोग पुर्याउने जानकारी दिनुभयो । साथै सोही कक्षबाट कर्मचारीको अभिलेख राख्नसमेत सहयोग गरिने उहाँले बताउनुभयो । 

सहायता कक्षामा प्रशासन कार्यालयका नायब सुब्बा पुष्पराज गिरी र सहायक कम्प्युटर अप्रेटर प्रेमबहादुर आले सहयोगी कर्मचारीको रूपमा खटिनुभएको छ । सहायता कक्षा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुस ११ गते सूचना प्रकाशित गरी समायोजनका लागि अनलाइन आवेदन भर्न कर्मचारीलाई अनुरोध गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!