चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

Posted on: 14 Oct, 2020

असोज २८, स्याङ्जा । चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । कोरोना भइरसबाट मङ्गलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत सर्वसाधारणलाई सचेत रहन आग्रह गर्नुभएको छ । नगरप्रमुख गिरीले कोरोना सङ्क्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी पूर्णरूपमा अपनाउँदै सचेत रहन नगरवासीमा अपिल गर्दै सङ्क्रमितको उपचारसहित सम्पूर्ण व्यवस्था प्रदेश र सङ्घ सरकारसँग समन्वय र सहकार्य गरी अभिभावकत्व कायम गर्न नगरपालिका तत्पर रहेकाले धैर्य र सुरक्षित रहनसमेत आग्रह गर्नुभएको छ । खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब सङ्कलन गरेर परीक्षण गर्ने क्रममा ३९ जनाको स्वाब सङ्कलन गरिएकामा १४ जनामा सङ्क्रमण देखिएपछि अन्यको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । सङ्क्रमण देखिएका १० पुरुष र चार महिलामध्ये १३ जनाको कालिका सामुदायिक अस्पताल हेलुमा र एक जनाको पोखरामा उपचार भइरहेको  जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण देखिनेमा केही दिन पहिले चापाकोटमा बिएम फाउण्डेशन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेशन फाउण्डेशनद्वारा सञ्चालित एकदिने निःशुल्क आँखा शिविरमा सहभागी भएकाहरु छन् । शिविरमा सहभागी चिकित्सक र आयोजकसमेतमा कोरोना सङ्क्रमण देखिएपछि केही दिनदेखि आइसोलेसनमा उपचार गराइरहेका बेला अन्य स्थानीयवासीमा समेत कोरोना देखिएपछि चापाकोट नगरपालिकामा कोरोना सङ्क्रमण थप फैन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ । यता वालिङ बजारमा समेत व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सतर्कता अपनाउन आग्रह गर्दै स्वास्थ्य सुरक्षाका सबै मापदण्डको प्रयोग गर्न आग्रह गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!