हत्या अभियोगमा दुई जना पक्राउ

Posted on: 16 Oct, 2019

असोज २९, सुर्खेत | चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१ काल्चेका २० वर्षीय निराजन विक र विनोद भनिने विनय विक रहेका छन् । प्रहरीले सोही ठाउँका यामबहादुर विकको हत्या गरेको अभियोगमा उहाँहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो । 

निराजनलाई गुर्भाकोटबाट र विनोदलाई महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौँको समन्वयमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार यामबहादुरको यही असोज २२ गते भान्सा कोठामा कुटपिटबाट मृत्यु भएको थियो । जिल्ला अदालतले दुवै जनालाई आठ दिन थुनामा राखी अनुसन्धान गर्न समय दिएको छ ।

“सामान्य विवाद हुँदा उहाँहरुबीच कुटाकुट चलेको र सो क्रममा चिर्पट प्रयोग गरी हत्या गरेको पाइएको छ,” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!