सुर्खेतमा आयुर्वेद शिक्षालय स्थापना गरिने

Posted on: 31 May, 2019

जेठ १७ सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्नुहँुदै उहाँले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरिने बताउनुभएको हो । 

मन्त्री रावलले आयुर्वेद क्षेत्रको विकास गर्न कर्णालीका बहुमूल्य जडीबुटीको उपयोग गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । ‘कर्णालीमा मानव स्वास्थ्यका लागि उपयोगी अथाह जडीबुटी छन्, ती प्रयोगमा नआएर वर्षौंदेखि खेर गएका छन्,’ उहाँले भन्नुभयो, “सरकारले आयुर्वेद शिक्षालय स्थापना गरेर जडीबुटीको समुचित प्रयोग गर्न सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्नेछ ।” उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र आयुर्वेद अस्पतालको स्तरोन्नति र शिक्षालय स्थापना गर्ने विषय समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वीरेन्द्रनगरका पूर्व नगरप्रमुख बालाराम शर्माले वैकल्पिक चिकित्सा पद्धतिको विकास तथा विस्तारका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । अस्पतालका पूर्व अध्यक्ष ओमबहादुर बोहराले आयुर्वेद क्षेत्र ओझेलमा परेको भन्दै आश्वासनमा मात्र नभई ठोस् कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

आयुर्वेद औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले जनशक्ति र भौतिक संरचना अभावले सेवा विस्तार गर्न कठिनाइ भएको गुनासो गर्नुभयो । कर्णालीका साथै सुदूरपश्चिमका अछाम, पाँच ५ नं प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लाबाट बिरामी आउने जानकारी दिनुभयो । औषधालयले प्रदेश सरकारको सहयोगमा ३२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ । 

–––

यस बिषयमा तपाइको प्रतिक्रिया...!