वीरेन्द्रनगर चिनाउन पार्क निर्माण गरिने

Posted on: 13 May, 2019

वैशाख ३०, सुर्खेत । वीरेन्द्रनगरमा चौघान पार्क निर्माण गरिने भएको छ । सामाजिक विकास मन्त्रालयको पछाडिको खाली जमिनमा पार्क निर्माणका लागि डिजाईन तयार गरिएको छ । वीरेन्द्रनगरलाई रमणीय बनाउनको लागी चौघानपार्क निर्माण गर्न लागिएको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ ।

नगर विकास समितिले सोमबार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर चौघान पार्क निर्माण सम्बन्धी सुझाव संकलन गरेको छ । सुर्खेतको पहिचान झल्काउने गरी पार्क निर्माण गर्न सहभागीले सुझाव दिएका छन् । पार्कभित्र स्थानीय भेषभुषा झल्कने खालका साम्रागीहरुलाई राख्न आग्रह गरेका छन् । कार्यक्रममा आर्किटेक्ट पल्लवी सिंहले तयार पारिएको गुरुयोजनाको डिजाईन सार्वजनिक गरिएको छ ।

निर्माण गर्न लागिएको पार्कभित्र, बालबालिकादेखि बृद्धबृद्धसम्मको लागि मनोरञ्जनका विभिन्न सामग्रीहरु समेत राखिएको छ । पार्क निर्माणको लागि झण्डै २० करोड ८० लाख रकम लागत लाग्ने अनुमान गरिएको आर्किटेक्ट सिंहले जानकारी दिए । उनले सरकारी कार्यालयको नजिक पार्क निर्माण गर्न लागिएकाले त्यहाँ प्रतीक्षास्थलको रुपमा समेत परिचित हुने बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरापालिका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनाभित्र नै चौघान पार्क पनि पर्ने भएकाले यसको विकास गरिने बताए । उनले चौघान पार्क नेपालमै नमुना पार्क बन्ने भन्दै यसमा सबैको साथको आवश्यक रहेको उल्लेख गरे । प्रमुख सुवेदीले बजेटका हिसाबले चौघान पार्क निर्माण गर्न धेरै ठुलो समस्या नभएको भन्दै अहिले डिजाईन अनुसार काम थालिने बताए ।

कार्यक्रममा उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कुमार कोईरालाले सुर्खेतको बजारलाई पहिले चौघान भनिने भएकाले त्यसको पहिचानका लागि पनि यसको नाम चौघान पार्क राख्न लागिएको बताए । उनले पार्क निर्माण बनाउने स्थलमा प्रदेश सरकार भवन निर्माणका संरचना बनाउने निर्णय गरेको भन्दै त्यो मान्ने नहुने बताए ।


अध्यक्ष कोईरालाले उपत्यका नगर विकास समिति अबको केही दिनमा नगरपालिका मातहतमा रहने भएकाले नगरपालिकालाई छिट्टै डिपिआर तयार पारेर काम थाल्न आग्रह गरे । कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कर्णाली प्रदेशका विभिन्न खालका चिनाहरु राखेर काम थाल्नु पर्नेमा जोड दिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!