कर्णाली महोत्सवको तयारी पूरा

Posted on: 15 Feb, 2019

फागुन ३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको कर्णाली महोत्सव–२०७५ को तयारी पूरा गरिएको छ । सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिन लागिएको सम्पूर्ण तयारी पूरा भएको हो । 

वीरेन्द्रनगर नगरपालिकादेखि दक्षिण मैदानमा सञ्चालन गरिन लागेको महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन् । आज (शुक्रबार) दिउसो १२ बजे मंगलगढी चौकबाट झाँकीसहितको र्याली निकालिने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष चिन्तमणि शर्माले जानकारी दिए । उनले महोत्सवमा कर्णाली प्रदेशमै उत्पादिन कृषि, लघुउद्यम बस्तुहरुको प्रदर्शनी गर्ने जनाए । ‘महोत्सवमा प्रविधि र व्यवसायीक स्टलहरु पनि रहनेछन्’ शर्माले भने, ‘बाल उद्यानसंगै मनोरञ्जनात्मक कार्यक्रमहरु समेत महोत्सव अवधिभर सञ्चालन गरिनेछ ।’ कर्णाली सरकारले अघि सारेको कर्णाली रारा पर्यटन वर्षलाई समेत महोत्सवले सहयोग पुर्याउने अपेक्षा शर्माको छ । ‘बाह्य र अन्तरिक पर्यटकलाई कर्णालीका पर्यटन स्थलसम्म पुग्न महोत्सवले टेवा पुर्याउने छ’ शर्माले थपे, ‘सरकारलाई कर्णालीको विकास लागि महत्वपूर्ण योजनाहरुलाई यथाशिघ्र सञ्चालन गर्न पहल पनि गर्नेछौं ।’ 

फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३५० स्टल छन् । महोत्सव सञ्चालनका लागि ६० लाख खर्च  लाग्ने अनुमान आयोजकको छ । महोत्सव अवधिभर झण्डै दुईलाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको कारोवार गर्ने अपेक्षा आयोजकको छ । यी मध्य झण्डै दुइसय बढी सुर्खेतकै व्यवसायीक स्टलहरु रहेको शर्माको भनाई छ । ‘विगतभन्दा सुर्खेतका व्यवसायहरु यो पटक धेरै सहभागी हुनुभएको छ’ शर्मा भन्छन्, ‘महोत्सवमा स्थानीय कलाकारकर्मीहरुलाई प्रोत्सान गर्न विशेष प्राथमिकता दिएर प्रतियोगिताहरु सञ्चालन गर्दैछौं ।’ महोत्सवबाट संकलन भएको रकममध्य पाँच लाखको लगानीमा वीरेन्द्रनगरमा सार्वजनिक शौचालय गरिनेछ । सामाजिक उत्तरदायित्व अन्तरगत नगरपालिकाले तोकेको ठाउँमा ६ महिनाभित्रै शौचालय निर्माण गरिने शर्माले जानकारी दिए । महोत्सवमा राष्ट्रिय लोकदोहारी गित प्रतियोगिता गरिने पनि शर्माको भनाई छ । उनका अनुसार प्रतियोगिताका प्रथमलाई ५१ हजार १११, दोस्रोलाई ३१ हजार १११, तेस्रोलाई १५ हजार १११ र चौथो हुनेलाई ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, महोत्सवमा अवधिमा उत्कृष्ट गायक/गायिकालाई भने ५ हजार १११ रुपैयाँ पुरस्कार समेत दिइनेछ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!