सुर्खेतमा धर्म निरपेक्षताको व्यानर जलाइयो

Posted on: 19 Apr, 2019

बैशाख ६, सुर्खेत । नेपालमा आएको गणतन्त्र संगै घोषणा भएको धर्मनिरपेक्ष राष्ट्र घोषणालाई बारे विरोध गर्दै  हिन्दुराष्ट्रको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतमा धर्म निरपेक्षता अंकित व्यानर जलाएको छ । हिन्दु राष्ट्र पुनस्र्थापना सहित २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा रहेको पार्टीले शुक्रबार मंगलगढी चौकमा झण्डा जलाएको हो ।


वीरेन्द्रनगरको पार्टी कार्यालयबाट निस्किएको र्यालीले मंगलगढी चौकमा पुगेको थियो । मंगलगढी चोकमा कोणसभा गरेर धर्म निरपेक्षताको खारेजीको माग गर्दै व्यानर जलाएको हो । कार्यक्रममा राप्रपा प्रदेश अध्यक्ष धनबहादुर बुढा, केन्द्रीय सदस्य तुलाराम गिरी, जिल्ला अध्यक्ष मानबहादुर खड्का लगायत  नेताहरुको सहभागीतामा व्यानर जलाइएको पार्टी प्रचार विभाग सदस्य प्रेम बिसिले जानकारी दिए ।


गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको बिसीको भनाई छ । पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम पनि समेत सम्पन्न गरेको छ ।

आज राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने एवम् आफ्ना मागहरू बारे सरकार गम्भीर नभए पार्टीको निर्णय अनुसार दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेर अगाडि बड्ने चेतावनी दिएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!