बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास

Posted on: 13 May, 2019

वैशाख ३०, सुनसरी | सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । 

सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गर्नुभयो । सो अवसरमा कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी र १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे सहभागी हुनुहुन्थ्यो । 

रामधुनी नगरपालिकाले उपलब्ध गराएको करीब एक बिघा क्षेत्रफलमा सुविधा सम्पन्न बस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले बताउनुभयो । बाढी पीडित र विपन्न समुदायलाई लक्षित गरी तयार पार्न पारिएको बस्तीका प्रत्येक घर दुई कोठे हुनेछन् । शौचालय र खानेपानीको उचित प्रबन्धसहितको बन्दोबस्ती मिलाइने नमूना बस्तीमा चिल्ड्रेन पार्कको समेत व्यवस्था गरिने अध्यक्ष कोइरालाले बताउनुभयो । 

बढीमा छ महीनाभित्र निर्माण कार्य सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएको प्याब्सनले नमूना बस्ती निर्माणको अनुमानित लागत रु एक करोड ५० लाखको हाराहारीमा रहने जनाइएको छ । 

कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठसहित केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा बराह क्षेत्र नगरपालिका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, नेकपाका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल(पपु), वडाध्यक्ष रुद्र बस्नेतलगायतको सहभागिता रहेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!