राजमार्गमा गाडी चलाउँदै गरेका ५ बर्षीय बालक प्रहरी नियन्त्रणमा, प्रहरी छक्क

Posted on: 06 May, 2020

वैशाख २४, काठमाडौँ (बिबिसीको सहयोगमा) | अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेर गाडी चलाउदै गर्दा एक पाँच बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति वालक आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।

समाचारमा बिबिसीले लेखेको छ 'धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन् । तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे ।'

राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो । चालकले प्रहरीको निर्देशन अनुसार गाडी रोके । तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे । बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए । प्रहरीलाई ती बालकले बताए अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए ।


Photo: Utah Highway Patrol

ति वालकले आफैँ गाडी किन्न उक्त गाडी चलाएर क्यालिफोर्नियातिर जाने निर्णय गरेको बताएका छन्, प्रहरीले ट्विटरमा लेखेको छ ।

तर उनीसँग गाडी किन्न पुग्ने पैसा भने थिएन । प्रहरीका अनुसार उनको खल्तीमा तीन डलर मात्रै थियो । 

यस समाचारलाई पुष्टि गर्न भिडियो समेत छ । भिडियो अनुसार प्रहरीले ती चालकलाई 'तिमी कति वर्षका भयौ ?' भनेर सोधेको सुन्न सकिन्छ । पाउदानसम्म खुट्टा पुर्‍याउन ती बालक सीटको छेउमा बसेको र आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेको प्रहरीको भनाइ छ । 

बालकले नियम मिचेको तर सो घटनाबाट कसैलाई चोट नलागेको र स्थानीय अधिकारीले अभिभावकलाई कारबाहीका लागि मुद्दा लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने स्थानीय केएसएल टीभीले बताएको छ ।

घटनाको बेला दुवै अभिभावक काममा रहेको र ती बालक दाजुको निगरानीमा रहेको बताइएको छ । घटनापछि प्रहरीले उनका अभिभावकलाई बालबालिकाका पहुँचमा गाडीको साँचो नराख्न आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!