नक्कली भनेर किनेको हिराको औंठीले जब एकाएक करोडपति बनायो !

Posted on: 09 Feb, 2019

एउटी बेलायती महिलाको हिरा लगाउने इच्छा थियो । तर उनीसँग हिरा किन्नको लागि पर्याप्त पैसा थिएन । हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि उनले बजारमा गएर हिराजस्तै देखिने नक्कली हिराको औंठी किनिन् ।

३३ वर्षसम्म उनले लगातार त्यो औंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंठीले उनलाई रातारात करोडपति बनाइदियो ।

ती महिलाले बताएअनुसार ३३ वर्षपहिले आफ्नो इच्छा पूरा गर्न उनले बजारबाट हिराजस्तै देखिने ‘नक्कली’ औंठी किनेकी थिइन् । त्यतिबेला त्यसको मूल्य नेपाली १ हजार ३ सय ६० रुपैयाँ परेको उनले बताएकी छिन् । तर पछि उनले खै के सोचिन्,  आफूले ३३ वर्षसम्म लगाएको औंठी बेच्ने निर्णय गरिन् ।

उनी त्यो औंठी बेच्नको लागि एक हिरा व्यापारी ठाउँ गइन् । व्यापारीले बेच्नुको कारण सोध्दा, उनले औंठीमा लगाइएको हिरा नक्कली भएको र आफूले बेच्न खोजेको भनेपछि हिरा व्यापारी तीनछक परे ।

व्यापारीले यो सक्कली हिराको औंठी हो भनेर हेरेर थाहा पाइहाले। उनले सम्झाउँदै ती महिलालाई यो नक्कली नभएर सक्कली हिराको औंठी भएको बताए । यो कुरा सुनेर ती महिलालाई विश्वास नै भएन । उनले बताएकी छिन्, ‘व्यापारीको त्यो कुरा सुनेर मलाई चक्कर आउन थाल्यो, आफैलाई नियन्त्रण गर्न सकिनँ ।’

ती व्यापारीले त्यो हिरा २७ क्यारेटको बताएपछि उनले त्यसलाई परीक्षण गर्न हिरा विज्ञहरुलाई पनि भेटिन् । उनीहरुले पनि त्यो एकदमै प्राचीन हिरा भएको र त्यसलाई लिलाम बिक्रि गर्न सल्लाह दिए ।

उनीहरुको सल्लाह अनुसार उनले त्यो औंठीलाई लिलाम बिक्रीमा राखिन् । अन्त्यमा ९ करोड रुपैयाँमा यसको लिलाम भयो । तर सबै कर काटेर ती महिलाले भने सात करोड रुपैयाँ पाइन् । ३३ वर्षअगाडि नक्कली भनेर किनेको हिराको औंठीले उनलाई करोडपति बनायो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!