सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी, एक करोडमा जमैका तलावाजमा आबद्ध

Posted on: 06 Jul, 2020

असार २२, काठमाडौँ | नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन् । 

सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका हो । सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी) मूल्य राखेका थिए ।

गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो। जसमा सन्दीप आबद्ध टिममा आन्द्रे रसेल, कार्लोस बाथवेट लगायतका खेलाडी छन् ।

ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएकोमा सन्दीप चौथो महँगो मूल्य राख्ने खेलाडी मध्येमा थिए । सन्दीपले लगातार तेस्रो सिजन सिपिएल खेल्ने भएका हुन् । 

२०१८ को सिजन सेन्ट किट्सबाट खेलेका सन्दीपले गत सिजन बार्बाडोसबाट खेलेका थिए ।

कोरोना भाइरसका कारण यसपटकको लिग एक देशमा मात्र हुने तय छ । लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एन्ड टोबागोमा गर्ने आयोजकले निर्णय गरेको थियो । तर ट्रिनिडाडको सरकारले प्रतियोगिताका लागि अनुमति दिन बाँकी नै छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!