बढैयातालमा प्रदेशस्तरीय क्रिकेट मैदान बन्ने

Posted on: 08 Jun, 2020

जेठ २६, गुलरिया | बढैयाताल गाउँपालिका २ सीतापुरमा प्रदेशस्तरीय क्रिकेट मैदानको  शिलान्यास भएको छ ।  गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ र अमरज्योति माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी दुर्गादत्त शास्त्रीले आइतबार मैदान शिलान्यास गर्नुभयो ।

बर्दिया जिल्ला क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र  गाउँपालिकाको पहलमा बढैयाताल  २ विद्यालयको खेल मैदानमा पहिलो चरणमा रु ४६ लाखमा प्रदेशस्तरीय क्रिकेट मैदान निर्माण हुन लागेको समाजसेवी शास्त्रीले बताउनुभयो ।

 गाउँपालिका अध्यक्ष श्रेष्ठले क्रिकेट खेलप्रति स्थानीय युवामा देखिएको रुचि र देशले अन्तरराष्ट्रय तहमा नेपाली क्रिकेट खेलले पाएको सफलतालाई ध्यानमा क्रिकेट मैदान निमार्ण गर्न लागिएको जानकारी दिनुभयो । खेल मैदान निमार्णका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदनानुसार रु १८ करोड आवश्यक पर्ने भए पनि क्रमागत रुपमा बजेटको व्यवस्था गर्दै निर्माणको काम अघि बढाइने जनाइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!