पदक विजेता खेलाडीलाई नगर परिक्रमा (९ तश्विर)

Posted on: 13 Dec, 2019

मङ्सिर २७, काठमाडौँ | राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का पदक विजेता खेलाडीलाई नगर परिक्रमा गराएको छ । उनीहरुलाई काठमाडौँ र ललितपुरका विभन्न ठाउँमा परिक्रमा गराइएको हो । उपत्यकाका तीनवटै नगर परिक्रमा गराइने भनिए पनि झरीका कारण भक्तपुर नगर परिक्रमा भने गराइएन ।

सागका विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई विभिन्न सवारीसाधनमा राखेर त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालादेखि नयाँ सडक, इन्द्रचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, बबरमहल हुँदै पुनः रङ्गशाला पुर्याइएको थियो । बिहान ११ बजेदेखि नगर परिक्रमा गराइने भनिए पनि वर्षाका कारण झण्डै दुई घण्टा ढिला भएको थियो ।

साग पदाधिकारीलाई राखेप परिसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाललगायतले फूलमाला तथा अबिर लगाएर नगर परिक्रमाको शुरुआत गर्नुभएको थियो । सरकारले यसअघि सागका स्वर्ण विजेतालाई रु नौ लाख, रजत विजेतालाई रु छ लाख र कास्य जित्नेलाई रु तीन लाखका दरले पुरस्कार दिने घोषणा गरेको थियो । तेह्रौँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । रासस

माथिको तश्वीरहरु: तेर्हौं दक्षिण एशियाली खेलकूद (साग)का पदक विजयी खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइँदै । खेलाडीलाई त्रिपुरेश्वर, न्युरोड, इन्द्रचोक, रत्नपार्क, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रको परिक्रमा गराइएको थियो | तश्वीर: रत्न श्रेष्ठ/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!