विश्वकप क्रिकेटः रोहितको २३ औं सतकीय पर्दर्शन, दक्षिण अफ्रिका ६ विकेटले पराजित

Posted on: 06 Jun, 2019

जेठ २३, काठमाडौँ | इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ ।

बुधबार भएको खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको हो । जितको लागि भारतका रोहित शर्मा एक्लैले अविजित रहेर १२२ रन जोडे । उनले १४४ बलमा १३ चौका र २ छक्कासहित १ सय २२ रनको योगदान गरे । साउथह्याम्पटनमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको विजयी लक्ष्य भारतले ४७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो । खेलको अन्त्यतिर भारतको लागि हार्दिक पाण्डेले अत्यन्त राम्रो ब्याटिङ गरे । 

खेलमा महेन्द्र सिंह धोनीले ३४ रन जोडे भने लोकेश राहुलले २६ रन बनाए । त्यस्तै कप्तान विराट कोहली १८ रन मात्र बनाउन सके । अर्का खेलाडी शिखर धवनले ८ रन मात्र जोडेका थिए । खेलमा भारत विरुद्ध दक्षिण अफ्रीकाका कागीसो राबडाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रनको योगदान गरे ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ भारतका लागि युजबेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिँदा भुवनेश्वर कुमार र जसप्रित बुमराहले दुई-दुई विकेट लिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!