खेलकूदको बजेट रु तीन अर्ब ९९ करोड

Posted on: 29 May, 2019

जेठ १५, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि खेलकूदका लागि रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आवको बजेट प्रस्तुत गर्दै खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त रकम विनियोजन गरिएको बताउनुभयो । 

सरकारले काठमाडौँस्थित निर्माणाधीन मूलपानी क्रिकेट मैदान आगामी दुई वर्षसम्म सम्पन्न गर्न रु १० करोड विनियोजन गरेको छ । 

काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसर निर्माण गर्ने, सबै प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र सबै स्थानीय तहमा खेलग्राम निर्माण गरिने भएको छ । क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरीने, १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र २०७७ सालमा गण्डकी प्रदेशमा आयोजना गरिने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि आवश्यक बजेट छुट्ट्याइएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

साग आगामी डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौँ र पोखरामा हुँदैछ । काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकूद परिसरको निर्माण गर्न प्रारम्भिक अध्ययनसमेत गरिने अर्थमन्त्री खतिवडाले बताउनुभयो । बजेटमा सङ्घ, प्रदेश र स्थानीय तहमा खेलाडीलाई प्रशिक्षण र क्षमता विकासका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!