सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा

Posted on: 17 Apr, 2019

वैशाख ४, सोलुखुम्बु । सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो ।

पहिलोपटक नेपाल आफैंले  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्दैछ ।यसका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिए।

टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै लबुचे पुग्नेछन् ।

उनीहरुसँगै नेपाल माउण्टेन एकेडमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ ।

टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताइएको छ । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन् । २०१९ मा सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।

नापी विभागले अहिलेसम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापना गरिसकेको छ । यससँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डङ्गोलको भनाइ छ ।

कति पटक नापियो ?

विश्वको सर्वोच्च शिखर भएकाले सगरमाथालाई संसारले नै चासोका साथ हेरेको छ । यसको आधिकारिक उचाइ मापनको काम भारत, अमेरिकालगायतको विभिन्न राष्ट्रले गरे पनि फरक-फरक रिपोर्ट सार्वजनिक भएका छन् ।

नापी विभागका अनुसार सन् १८५२ मा पहिलोपटक ब्रिटिसले सगरमाथाको उचाइ नापेका थिए । नेपालमा नआई सर्भे अफ इण्डियाबाट नापेका ब्रिटिसले आठ हजार ८४० मिटर उचाइको हिमाल रहेको बताएका थिए ।

ब्रिटिसहरुले नै सन् १९०४ मा पुनः नापेको बताइन्छ । सन् १९५४ मा भारतीय नापी विभागको टोलीले आठ हजार ८४८ मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेको थियो । सन् १९९९ मा  अमेरिकी टोलीले सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको दाबी गरेको थियो ।

यस्तै नर्वे, अमेरिका र चिनियाँ संस्थाले पनि सगरमाथाको उचाइ नापेको बताइन्छ । उनीहरुले नाप्दा फरक-फरक समयमा फरक-फरक रिपोर्ट सार्वजनिक गरेका थिए ।

नेपालले भने अहिलेसम्म आठ हजार ८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ । अब नेपाली टोलीले यसको उचाइ मापन गरी नेपाल सरकारकारलाई बुझाएको प्रतिवेदन नै आधिकारिक हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!