भेटियो हराउन लागेको ऐतिहासिक सामग्री

Posted on: 18 Apr, 2021

वैशाख ५, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथालाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो । 

प्रथम विश्वयुद्धमा बेलायतका तर्फबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मनेली प्रा हाइनरिक ल्युडर्सद्वाले तिनका बासस्थानमा नै गएर रेकर्ड गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अस्ट्रियाको भियाना विश्वविद्यालयमा प्राध्यापनरत डा अलका आत्रेयले उक्त सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गर्नुभएको हो । तीन परिच्छेदमा विभाजन गरिएको यस कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्वपूर्ण जानकारीहरू प्रस्तुत गरी ती सामग्रीको विश्लेषण गरिएको छ भने दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथा राखिएका छन् । 

सो खण्डमा ती गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, सिलोक, फुटकर गीत, फुटकर सिलोक, ख्याली, हिन्दी गीत र भजन, हिन्दी दोहा र सिलोक, सोरठी जस्ता गेय विधा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथा जस्ता गद्य विधाका जम्मा ८६  ऐतिहासिक महत्व राख्ने लोकसामग्री समेटिएको जानकारी प्राज्ञ डा देवी नेपालले दिनुभयो । उहाँले भन्नुभयो, “यी ऐतिहासिक सामग्रीमा युद्धबन्दी गोर्खालीहरूका कथा र व्यथा समेटिएका छन्, साथै परिशिष्ट खण्डमा राखिएका तिनका नाम, नेपालको ठेगाना, त्यति बेलाको उमेर, तिनले सुनाएको विधा र रेकर्ड मिति जस्ता कुराले कृतिलाई झनै आधिकारिक र प्रामाणिक बनाएको छ, ती सामग्री पढ्दा र त्यो इतिहासको स्मरण गर्दा आज जो कोही पनि भावुक बन्ने अवस्थामा कृतिले पु¥याउने छ ।”

डा आत्रेयको मेहनत र प्रज्ञा–प्रतिष्ठानको जिम्मेवारीबोधका कारण वीर गोर्खालीको हराउन लागेको इतिहास आज नेपाली पाठकसमक्ष आइपुगेको छ । दुई २० पृष्ठको उक्त ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा राखिएको सूचना तथा सञ्चार शाखाप्रमुख प्राज्ञ शशि लुमुम्बुले दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!