सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई अस्पतालबाटै ८० प्रतिशतसम्म छूट

Posted on: 18 Apr, 2021

बैशाख ५, काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च अस्पतालबाटै छूट दिनेगरी सामाजिक सुरक्षा कोषले तयारी अघि बढाएको हो ।

कोषका अनुसार हाल उपचारपछि बिल पेश गरेर मात्रै योगदानकर्तालाई कोषबाट दाबी भुक्तानी दिइन्छ । यो व्यवस्था झन्झटिलो भएको गुनासो आएपछि ८० प्रतिशतसम्म छूट सीधै अस्पतालबाटै दिनेगरी तयारी अघि बढाइएको छ ।

यो सेवा शुरू भएपछि योगदानकर्ताले उपचारबापत १ लाख बराबरको सेवा अस्पतालबाट लिँदा २० प्रतिशत मात्रै तिरे पुग्नेछ ।

‘अब उपचार गराउँदा लागेको खर्च कोषमा दावी गर्न आइराख्नु पर्दैन, योगदानकर्तालाई सीधै अस्पतालबाट छूट दिनेगरी हामी लागिरहेका छौं,’ कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अभियानलाई बताए ।

उनका अनुसार अस्पतालबाट सीधै छूट दिनका लागि अहिले धमाधम सम्झौता भइरहेको छ । काठमाडौं उपत्यकाका सहित प्रदेशमा रहेका करीब १ सय ५ अस्पतालसँग छूट दिनेसम्बन्धमा अहिलेसम्म सम्झौता सम्पन्न भइसकेको छ । 

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!