सरकारी कागजात कीर्ते गर्ने पक्राउ

Posted on: 07 Apr, 2021

चैत २५, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । हेटौँडा उपमहानगरपालिका–¬५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ । 

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराले अपहरण गरेको आरोपमा एक व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ । अपहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बाराका तत्कालीन प्रसौनी गाउँ विकास समिति–७ का बलिराम साहलाई २०६४ सालमा अपहरण गरेको र अपहरणबाट भागेर आएपछि  निज साहले सोही समयमा दिएको उजुरीको आधारमा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

किराना पसल चलाउँदै गरेका शाहलाई १० जनाको समूहमा पसलबाट अपहरण गरी रु २० लाख फिरौती माग गरिएको थियो । अपहरणकारीको कब्जाबाट भागेर आएका साहले महतोविरुद्ध उजुरी दिएको बारा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!