पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत आयोजना प्रतिवेदन तयार

Posted on: 29 Sep, 2020

असोज १३, कास्की (रासस) । गण्डकी प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । 

साविक भरतपोखरी गाविस हाल पोखरा महानगरपालिका– ३३ को पशुपतिघाटको १७४ रोपनी जमिन गतवर्ष नेपाल सरकारबाट प्रदेश सरकारलाई भोगाधिकारका लागि प्राप्त भएपछि सरकारले सो जमिनमा रङ्गशाला निर्माण प्रक्रिया अघि बढाएको हो । 

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिसकेको छ । बिआरएस इन्जिनीयरिङ सोलुशन प्रालिले रङ्गशालाको डिपिआर तयार गरी प्रतिवेदन सामाजिक विकास मन्त्रालयलाई बुझाएको हो । 

सरकारले गत वर्ष रङ्गशालाको डिपिआरका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । जमिन प्राप्त भएपछि सरकारले डिपिआर प्रक्रिया शुरु गरेकामा कम्पनीले हालै प्रतिवेदन बुझाएको थियो । सो डिपिआरमा रङ्गशाला निर्माणमा रु एक अर्ब ६० करोड लागत लाग्ने उल्लेख गरिएको मन्त्रालयका खेलकूद विभाग महाशाखाका उपसचिव तेजप्रसाद काफ्लेले बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षमा क्रिकेट रङ्गशालाका लागि रु दुई करोड बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट यस वर्र्ष वातावरणीय प्रभाव मूल्याङ्कन, जमिन सीमाङ्कन तथा तटबन्धनलगायत काम गरिने मन्त्रालयले जनाएको छ । उपसचिव काफ्लेले भन्नुभयो, “अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि डिपिआर बनाउने जिम्मा पाएको कम्पनीले  प्रतिवेदन बुझाएको छ । यसवर्ष बजेट थोरै मात्र विनियोजन गरिएकाले जग्गाको संरक्षणका काम गर्दै रङ्गशालाका लागि स्रोत जुटाउन शुरु गर्दछौँ ।”

गण्डकी प्रदेश सरकार गठन भएपछि सरकारको आव २०७४/७५ को पहिलो बजेट तथा कार्र्यक्रममा प्रदेशभित्र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणका लागि स्थान पहिचान गर्ने उल्लेख थियो । त्यसपछिका बजेट कार्यक्रममासमेत सरकारले रङ्गशाला निर्माणलार्ई प्राथमिकतामा राखेको छ ।

करिब १२३ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने रङ्गशालामा १८ हजार दर्शक क्षमताको प्यारापिट बन्ने डिपिआरमा उल्लेख छ । मैदानमा सात वटा पिच, भिभिआइपी कक्ष, भिआइपी कक्ष, खेलाडी कक्ष(प्लेयर बक्स), चेञ्जिङ रुम(कपडा फेर्ने कोठा), मिडिया कक्ष, पार्किङलगायत संरचना बन्नेछन् । 

क्रिक्रेट रङ्गशाला पोखराको मुख्य बजारदेखि १० किमी टाढा  र पृथ्वीराजमार्गबाट दुई किमिको दूरीमा रहेको छ । पोखरामा पछिल्ला वर्षमा क्रिकेटका अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत सम्पन्न भएका छन् । पोखरा रङ्गशालाभित्र रहेको क्रिकेट मैदानमा गतवर्ष १३औँ दक्षिण एशियाली खेलकूद(साग)को महिला क्रिकेट खेलाइएको थियो । सो मैदानमा क्रिकेटका अन्य पूर्वाधार बन्न सकेका छैनन् । पोखरा प्रिमियर लिग(पिपिएल)का दुई संस्करणसमेत सोही मैदानमा सम्पन्न भएका थिए । 

प्रदेश सरकारले बनाउन प्रक्रिया शुरु गरेको क्रिकेट रङ्गशाला निर्माणपछि पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिताको ढोका खुल्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि दुई मैदान अनिवार्य गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!