तालाबन्दीले नगरपालिकाको काम ठप्प

Posted on: 28 Sep, 2020

असोज १२, रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग गर्दै दलहरुले ताला लगाएका कारण कार्यालयको कामकाज रोकिएको नगरपालिकाका उपसचिव कुलप्रसाद खनालले जानकारी दिनुभयो । दलहरुले शिक्षा ऐन संशोधनसँगै छाडा चौपाया व्यवस्थापनको माग पनि अघि सारेका छन् । 

नगरपालिकाले आफूहरूले उठाएका माग पूरा नगरेसम्म ताला नखोल्ने दलहरुको अडान छ । मागबारे गत फागुनमै नगरपालिकाको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि ताला लगाइएको जनता समाजवादी दलका नगर अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका संयोजक अब्दुल मोविन खानले जानकारी दिनुभयो । 

नगरपालिकाले कार्यपालिकाबाटै शिक्षा ऐन संशोधन गरी अगाडि बढाउने निर्णय गरेपनि दलहरु सहमतिमा नआएको उपसचिव खनालले बताउनुभयो । नगरपालिकाका प्रमुख मनमोहन चौधरीले दलहरुको मागप्रति नगरपालिका सकारात्मक रहेकाले सहमतिको प्रयास भइरहेको छ भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!